राष्ट्र बैंकद्धारा बीमा कम्पनीहरुमा अनुगमन, सम्पत्ति शुद्धीकरण कमजोर रहेको ठहर

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बीमा कम्पनीहरुमा सम्पत्ति शुद्धीकरण तथा अतंकवादी क्रियाकलापमा वित्तीय लगानी (एएमएल–सीएफटी)को अवस्था बुझ्न अनुगमन गरेको छ । 

राष्ट्र बैंकको एएमएल–सीएफटी टिमले बीमा कम्पनीहरुको कारोबार र लेखा प्रणाली चेकजाँच गरेपछि सम्पत्ति शुद्धीकरणका लागि आन्तरिक नियन्त्रण निकै कमजोर रहेको पाएको हो ।

Advertisement

बीमा स्रोतले दिएको जानकारीअनुसार राष्ट्र बैंकको टोलीले एएमएल–सीएफटीमा बीमा कम्पनीहरुको आन्तरिक नियन्त्रण कमजोर रहेकोले निकै सुधार गर्न निर्देशन दिएर गएको छ । तर, बीमा कम्पनीहरुले राष्ट्र बैंकको अनुगमन टोलीले आरोप लगाएजस्तो बीमा कम्पनीहरुको एएमएल–सीएफटी कमजोर नरहेको दावी गरेको छ । 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले भने, ‘अन्य क्षेत्रको तुलनामा बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणको अवस्था स्वस्थ छ । हाम्रोमा कसैले एक लाख रुपियाँ राख्दा पनि हामीले त्यसको स्रोत खोज्छौं । त्यही पैसा बैंकमा राख्दा नौ लाख नौ सय रुपियाँसम्मको लागि स्रोत देखाउनु पर्दैन ।’ 

उनले बीमा क्षेत्रमा धेरै वटा कागज प्रमाण मागिने व्यवस्था भएकाले पनि मनि लाउण्डरिङको सम्भावना निकै कम रहेको बताए । बैंक तथा सहकारीहरुमा आज पैसा राख्ने र भोलि निकाल्न मिले पनि बीमा क्षेत्रमा भने आज राखेको त्यही पैसा लिन लामो समय कुर्नुपर्ने भएकोले कालोधन प्रयोग हुने जोखिम र अवधि दुवै कम हुने पौडेलको भनाई छ ।  

उनले बीमा क्षेत्रलाई दोष औंल्याउन सहज भए पनि यसमा रहेका सुरक्षाका पाटो र संयन्त्रका बारेमा पनि जनता सचेत रहन जरुरी रहेको स्वीकार गरे । 

त्यस्तै, नेपाल बीमा प्राधिकरणमा लामो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी काम गरेका निर्देशक दिनेश कर्ण भन्छन्, ‘सम्पत्रि शुद्धीकरणमा नेपाल बीमा प्राधिकरणले आफै पनि नियमन गरिरहेको हुन्छ । यसका लागि हामीसँग आवश्यक ऐन, नियमावली सबै छ भने हामी आफैले पनि आवश्यकता अनुसार निर्देशन समेत दिइरहेका छौं । हामीसँग २०७५ सालको निर्देशिका छ । हामीले नियमन गर्दा एकमा शुन्य दशमलव पाँच प्रतिशत केही खराबीहरु पनि पाएको अवस्था छ । हामीले गएको वर्षमा पाँचवटा कम्पनीहरुलाई दुई लाख रुपियाँको दरले जरीवाना समेत गरेका थियौं ।’

उनले बीमा गर्दा कम्पनीहरुले ग्राहक पहिचानको कुरा र ग्राहकहरुको आर्थिक क्षमतालाई समेत बुझ्न आवश्यक रहेको बताए । कर्णले केही घटनाहरु भए पनि आफूहरुले प्रत्यक्ष रुपमा बीमा कम्पनीहरुले गर्ने कारोबारको निगरानी राख्ने र बेनामी कारोवारलाई निरुत्साहित गर्ने बताए । 

एएमएल–सीएफटीमा नेपालले आवश्यक कानुन बनाउन ढिलो गरेको र आफ्नो प्रतिवद्धता पालनामा कडाई नगरेको भन्दै यससम्वन्धी हेर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन ट्राक्स फोर्सले नेपाललाई कालोसुचीमा राख्न लागेका समाचार समेत आएका थिए । सोही सन्दर्भमा क्यानडामा आयोजित बैठकमा भाग लिन नेपालबाट राष्ट्र बैंकका गर्भनर बीमा प्राधिकरणका अध्यक्ष, अर्थ मन्त्रालयसहित विभिन्न निकायका प्रतिनिधिहरु समेत भाग लिन गएका थिए । 

Advertisement