अभिकर्ता सिफारिस गर्ने कम्पनीहरु हो, बदमासी गरे कम्पनीलाई नै कारवाही हुन्छः पौडेल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अवैधरुपमा कसैले बीमा अभिकर्ताहरुको लाइसेन्स लिएर काम गरेको पाइए काम गरिरहेको सम्बन्धित बीमक (बीमा कम्पनी)लाई नै कारबाही गर्ने चेतावनी दिएका छन् ।  

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले अभिकर्ताहरुको इजाजतका लागि सिफारिस गर्ने जिम्मा बीमा कम्पनीहरुलाई दिएकाले प्राधिकरणले जालसाँची गरेको पाइए कम्पनीलाई नै कारबाही गर्ने बताएका हुन् । 

Advertisement

यता बीमा कम्पनीहरु भने प्राधिकरणको कुरामा सन्तुष्ट छैनन् । उनीहरुले प्राधिकरणले नै लाइसेन्स (इजाजत पत्र) दिने भएकाले अभिकर्ताहरुको बारेमा प्राधिकरणले नै छानविन गरेर लाइसेन्स दिनुपर्ने बताउँछन् ।  

कार्यकारी निर्देशक पौडेलले भने कस्तो व्यक्तिलाई अभिकर्ता राख्ने ? कम्पनीले नै छनौट गरेर सिफारिस गर्नुपर्ने बताउँछन् । उनले भने, ‘बीमा कम्पनीहरुले आफ्नो कम्पनीमा राख्ने अभिकर्ता गतिलो चाहियो । दुईतिर काम गरेको हुनुभएन् । व्यक्ति गतिलो भयो भने उसले ठूलो व्यवसाय भित्राउँछ । त्यसबाट कम्पनीकै व्यवसाय बढ्छ । कम्पनीकै गरिमा बढ्छ । । को व्यक्ति कस्तो ? त्यो त कम्पनीलाई थाहा हुन्छ, हामीलाई भन्दा ।’

बीमा कम्पनीहरु अभिकर्ताको गुणस्तर बढाउनेभन्दा पनि संख्या बढाउन केन्द्रित भएको जस्तो देखिएको पौडेलको आरोप छ । ‘यसको मतलब सबै अभिकर्ता गलत छन् भन्न खोजको होइन’ भन्दै उनले थपे, ‘भोलि कुनै अभिकर्ताबाट बदमासी भयो भने त हामीले कारबाही गर्नुपर्छ । त्यस्तो कारबाही हामीले अभिकर्तालाई मात्र होइन्, अब सम्बन्धित बीमकलाई समेत गर्छौं ।’ 

पौडेलले बीमकको सिफारिस सदर गरेर अभिकर्ताहरु छान्दा लाइसेन्स दिँदा नियामक र बीमा कम्पनीहरुबीच विश्वासको समेत कुरा आउने भएकाले त्यस्तो विश्वास कायम हुने किसिमले अभिकर्ताहरुलाई नियुक्त गर्न आवश्यक रहेको बताए । 

हाल निर्जीवन बीमा कम्पनीहरुमा भन्दा जीवन बीमा कम्पनीहरुमा अभिकर्ताहरुको संख्या धेरै छ । जीवन बीमामा अभिकर्ताहरुले प्राथमिक भूमिका निभाएर बीमाशुल्क भित्राउने भएकाले पनि उनीहरुको बढी चर्चा हुँदै आएको छ । 

अभिकर्ताहरुको गुणस्तरको कुरा उठ्दा बीमा प्राधिकरण केही कठोर भएको जस्तो देखिए पनि वास्तवमा अभिकर्ताहरुबीच हुनेगरेको गैरकानुनी नेटवर्किङको जालो भने अझै पनि समाप्त हुन सकेको छैन् । अहिलेको नयाँ बीमा ऐनले बीमा अभिकर्ताहरुमाथि थप कडाई गरेको छ । नियामकले पनि उनीहरुमाथि कडाई गर्दै गएको छ । यसले गर्दा व्यवसायिक र इमान्दारिताका साथ काम गर्ने अभिकर्ताहरु भड्किने अवस्था पनि बनेको छ । अर्कोतर्फ कमजोर नियमनको फाइदा उठाउँदै जो पनि अभिकर्ता बन्ने अवस्था अझै पनि कायम रहेको छ । 

केही ठूला तथा पुराना जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकत (सीईओ)हरुले भने अभिकर्ता व्यवस्थापनमा विगतको तुलनामा निकै सुधार भएको दाबी गर्छन् । उनीहरुले विभिन्न अभिकर्ताहरुले अन्तर्राष्ट्र्रिय सम्मान समेत पाएको, निरन्तर तालिममा सहभागी भएको र अबौं रुपियाँको व्यवसाय भित्र्याएर जनताको मन जितेको उदाहरण दिँदै अभिकर्ताहरुको क्षमता विकास र व्यवसायिकताका लागि कम्पनीहरुसँगै प्राधिकरणले पनि भूमिका खेल्नुपर्ने बताउँछन् ।  

Advertisement