‘फेक क्लेम’को भुक्तानीका लागि अनावश्यक दबाब झेल्नुपर्योः युनाइटेड अजोड

Advertisement

काठमाडौं । भर्खरै मर्जर सम्पन्न गरेको यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले नक्कली बीमा (फेक क्लेम)को दाबी भुक्तानीका लागि अनावश्यक दबाब झेल्नुपरेको गुनासो गरेको छ । 

एक बीमाको नक्कली दावी भुक्तानीका लागि विभिन्न व्यक्तिहरुले अनावश्यक दबाब दिने काम गरेको बताउँदै कम्पनीले आफूहरुले अवैधानिक ठहर गरेको बीमाको दाबी भुक्तानी तुरुन्तै भुक्तानी गर्दिनुपर्यो भन्दै दबाब दिने काम भएको बताएको हो । 

Advertisement

अजोड इन्स्योरेन्सका मानव संशाधन प्रमुख (एचआर हेड) आदर भण्डारीले फेक क्लेमलाई निरुत्साहित गर्नुपर्नेमा निहीत स्वार्थका लागि कोही लाग्छ भने त्यो पनि दण्डनीय हो भन्दै आफूहरु युनाइटेडमा रहँदा नै यस्तै समस्या झेल्नुपरेको बताए । 

कुनै बीमामा कस्ले दबाब दिएको हो ? उनले खुलाउन चाहेनन् । भण्डारीले भने, ‘राजनीतिक दलका उच्च पदस्थ व्यक्तिदेखि प्रशासक र विचौलियासम्मले दबाब दिने गर्छन् । यो हाम्रो कम्पनीमा मात्रै होइन्, अरु कम्पनीले पनि झेल्नेगरेको समस्या हो । हामीलाई पनि दबाब दिने काम भएको थियो । तर हामीले यस्तो गैरकानुनी काम गर्न अस्वीकार गर्यौं ।’

‘फेक क्लेम’का लागि अब पनि दबाब दिने काम भए त्यस्ता व्यक्तिको नाम सार्वजनिक गरी कारवाहीका लागि सिफारिस गर्न आफूहरु बाध्य हुने उनले बताए । बीमा कम्पनीले अवैध भनेको दावीलाई कसैको दबाब र स्वार्थका लागि भुक्तानी दिन नमिल्ने भण्डारीले बताए । स्वार्थ समूहले आफ्नो फाइदाको लागि दावी भुक्तानी दिन लाग्नु स्वाभाविक भए पनि त्यस्ता व्यक्तिलाई जेलसम्म हाल्न मिल्ने कानुनी व्यवस्था पनि रहेको उनले बताए । 

भण्डारीले भने, ‘मर्जरअघि नै केही व्यक्तिले अनुचित लाभ लिने उद्देश्यले पटक पटक फोन गर्ने, नचाहिँदो भेटघाट गर्ने, आफनो पहुँच माथिसम्म भएको भनेर फुर्ती देखाउने, धाकधम्की दिने काम भएको थियो । हामीले गलत काम गरे पो डराउने । जति दबाब र पहुँच देखाए पनि ‘फेक क्लेम’को भुक्तानी दिएनौं ।’  

उनले त्यस्ता मुद्दामा आफू कहिल्यै तयार नहुने र यदी कम्पनीको कोही कर्मचारीहरु यस्तो कार्यमा संलग्न रहेको पाइए कारवाही गराउने बताउँदै अब पनि यस्तो दबाब र धम्की दिने काम भएमा मिडिया बोलाएर सार्वजनिक गर्ने बताए । 

बीमा क्षेत्रलाई स्वच्छ, व्यवसायिक र सेवामुखी बनाउन सबैको उत्तिकै भूमिका जरुरी रहेको भण्डारीको तर्क छ । 

Advertisement