बैंकास्योरेन्सको नाममा ऋण लिन आउनेलाई जबर्जस्ती बीमा गराउँदाको असर अझै छः तिवारी

Advertisement

काठमाडौं । पेशागत अभिकर्ता संघका निर्वतमान अध्यक्ष नन्द तिवारीले अझै पनि बैंकास्योरेन्सको असर अझै कायम रहेको दावी गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफूहरुले त्यति बेला नै बैंकास्योरेन्स ल्याउनु गल्ती हुने बताए पनि जबर्जस्ती ल्याइएको बताउँदै त्यो बेला गरिएको यस्तो बीमाको असर अझै पनि कायम रहेको बताए । 

Advertisement

तिवारीको भनाईः 
बैंककमा लोन लिन जाने ग्राहकलाई चेपुवामा पारेर गराइने बीमा टिक्दैन भनेर हामीले पहिले नै भनेको थियौं । तर, हामीले भन्दा त्यति बेला हाम्रो कुरा सुनिएन् । अहिलेसम्म पनि त्यही एउटा गल्तीको ठूलो प्रभाव धेरैतिर छ ।

बैंकमा ऋण लिन आएकालाई जबर्जजस्ती बीमा गराउँदा समयमा बीमाशुल्क तिर्न नसक्ने र बीमाशुल्क तिर्न नसक्दा बीमा पोलिसि ल्याप्स हुने समस्या ह्वात्तै बढेको थियो । तत्कालिन समयमा बीमा कम्पनीहरुले एक ढंगले गरिरहेको व्यवसायमा समेत बैंकास्योरेन्सको ठूलो असर देखापरेको थियो । त्यस्ता असरहरु अहिलेसम्म पनि कायमै छ । 

अहिले पनि बीमा गराउन अघि सरेका बैंकहरु बदनाम भएको अवस्था छ । उनीहरुले जुन ढंगले बीमा गराएका थिए, त्यसरी नै दाबी भुक्तानी दिन नसक्दा अहिले पनि धेरै बीमितहरुको समस्या समाधान भएको छैन् । अझ भनौ बीमाले दिने बोनसमा पनि बैंकास्योरेन्सले एकरुपता निम्त्याउन छाडेर बीमितहरुलाई दिने प्रतिफलमा समस्या ल्याएको छ ।

आज तपाइँहरुले प्रत्यक्ष गएर हेर्नुस् ९९ प्रतिशत बैंकहरुले गराएको बीमाको हालत । भलै अहिले बैंकास्योरेन्स रोक्किएको छ तर त्यसरी रोकिएका पोलिसि न त अहिले पुर्नजागरण हुन सकेको छ, न त पहिलेकै भुक्तानी पूरा भएको अवस्था छ । अहिले बीमितहरुले बीमालेखको समर्पण (सरेण्डर) गर्नसक्ने अवस्था पनि देखिँदैन भने उनीहरुले बोनस पाउने भन्ने कुरा निकै परको कुरा जस्तो देखिएको छ । 

सस्तो व्याज भएको बेलामा ऋण पाईन्छ भनेर बैंकहरुले धेरै जना मानिसको बीमा गराई दिए । अब हेर्नुस् बैंकको पोलिसी कस्तो देखिन्छ ? भने व्याज सस्तो बनाएर बीमा गराउने अनि अहिले बीमा पनि रोकियो । उता ऋण तिर्न पनि ग्राहकहरुलाई सकस भयो । अहिले यही बेलामा विगतको भन्दा व्याजदर बढेको अवस्था छ । चर्को व्याजदरमा जनताले के गर्न सक्छन् र ?

नेपाल बीमा प्राधिकरणले पाउने (सर्भिस चार्ज) सेवा शुल्क घट्यो । यस अर्थमा तत्कालिन बीमा समिति हालको नेपाल बीमा प्राधिकरण नै घाटामा छ । बीमा कम्पनीहरुलाई घाटा भईरहेको अवस्था छ । बैंक र व्यक्तिलाई पनि घाटा भएको अवस्था छ । 

यसरी चौतर्फी असर पार्ने कुरालाई परिक्षण (ट्रायल) को रुपमा काम गर्यो भने धेरै ठूलो धोका हुन्छ । त्यसले दीर्घकालिन रुपमा समग्र राष्ट्र र बीमा क्षेत्रलाई अवसर पर्ने कुरा ट्रायलको रुपमा ल्याउनु निकै गलत हो । हामीले त्यति बेलामा पनि भनेका थियौ अझै बेला बेलामा भन्दै पनि रहेका छौं । बीमा क्षेत्रका कुनै पनि योजना ट्रायलको लागि ल्याउनु हुँदैन् । यो अति घातक साबित हुनसक्छ ।
अहिले हामीले हरेक सरोकारवालाहरुलाई पर्ने असरको अध्ययन गरेर मात्रै बीमा क्षेत्रका योजनाहरु बनाउनुपर्ने अवस्था आएको छ । यसमा बीमा कम्पनी र नेपाल बीमा प्राधिकरण सचेत हुनुपर्छ । 

Advertisement