राष्ट्र बैंकले बैंकहरुलाई तगडा बनाए पनि अर्थतन्त्र ध्वस्त छ भने यसको अर्थ हुँदैन्ः ज्योति

Advertisement

काठमाडौं । वरिष्ठ उद्योगपति एवं पूर्वअर्थराज्यमन्त्री डा. रुप ज्योतिले नेपाल राष्ट्र बैंकले बैंकहरुको अवस्थालाई मात्रै ध्यान दिदाँ अन्य क्षेत्र दबाबमा परेको गुनासो गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले समग्र अर्थतन्त्रको अभिभावकत्व निर्वाह गर्नुपर्ने राष्ट्र बैंकले बैंकिङ क्षेत्रको मात्रै हित हेर्ने उचित होइन् भन्दै बैंकहरुको स्वास्थ्य सुधार गर्न गरिएको कडाईले अन्य क्षेत्र जोखिममा परेको बताएका हुन् ।

Advertisement

उद्योगी ज्योतिले अहिले आर्थिक मन्दीले दूरगामी असर पर्ने बताउँदै अर्थतन्त्र जोगाउन राष्ट्र बैंक र अर्थमन्त्रालय दुर्वले भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘राष्ट्र बैंकले यो सोच्नुभएन कि उसले बैंकलाई मात्रै मैले हेर्ने हो । राष्ट्र बैंक सबको अभिभावक हुनुपर्छ । सबैको समस्यालाई उसले हेर्नुपर्छ । बुझ्नुपर्छ । अर्थतन्त्रलाई मन्दीको अवस्थाबाट बाहिर ल्याउन भूमिका खेल्नुपर्छ ।’ 

अमेरिकाको फडरल रिजर्भ बैंकले अर्थतन्त्रमा केही समस्या आयो कि ? रोजगारी सिर्जना भयो कि भएन् ? रोजगारी घट्यो भने किन घट्यो ? औद्योगिक उत्पादन घट्यो भने किन घट्यो ? त्योअनुसार ब्याजदर घटाउने कि बढाउने ? भनेर समग्र अर्थतन्त्रलाई हेरिरहेको हुन्छ भन्दै डा. ज्योतिले राष्ट्र बैंकको नीति निर्देशनमा अर्थतन्त्र कता जाने भन्ने कुरा हुने भएकाले यस कुरामा उसले गम्भीरता देखाउनुपर्ने सुझाव दिए । 

बैंक मात्रै सुरक्षित गर्ने अन्य क्षेत्र असुरक्षित हुने कुराले बैंक पनि सुरक्षित नहुने उनको भनाई छ । उद्योगपति ज्योतिले अर्थतन्त्र धरासायी हुँदै गएको सुचकहरु पक्कै पनि राष्ट्र बैंकमा पुगेको हुनुपर्छ भन्दै ती सुचनाको आधारमा राष्ट्र बैंकले आवश्यक कदम चाल्ने हो भने अर्थतन्त्र सुधार हुँदै जाने बताए । 

चालु पुँजी कर्जाको मार्गनिर्देशनमा राष्ट्र बैंकले गरेको पछिल्लो संशोधन सकारात्मक रहेको डा. ज्योतिले बताए । उनले सीसीडी रेसियोलाई सीडी रेसियोमा रुपमान्तर गरियो, त्यसबेलादेखि अर्थतन्त्रमा समस्या आउन सुरु भएको बताए । ज्योतिले भने, ‘व्यक्तिगतरुपमा भन्छु राष्ट्र बैंकको त्यो निर्णय सही थिएन् । जस सीडी रेसियोअनुसार निक्षेपको ९० प्रतिशत मात्रै ऋण दिन पाउने, बैंकको रिजर्भ र शेयरलाई गणना गर्न नपाउने भन्ने कुरा कसरी मिल्छ र ?’

उनले विदेशी बैंकका शाखाहरु स्टाण्डर्ड  चार्टर्ड, नेपाल एसबिआईले नाफा सबै विदेश लाँदै आए पनि नेपाली बैंकहरुले नाफाको निश्चित रकम रिजर्भ गर्दै आएको अवस्थामा रिजर्भ र शेयरलाई गणना नगर्नुपर्ने जरुरी थिएन् भने । अहिले तरलता पर्याप्त भए पनि ब्याजदर नघट्दा कर्जा माग हुन नसकेको बताउँदै ज्योतिले व्यवसायीहरुलाई सरकारले आत्मविश्वास जगाउन नसकेका कारण पनि उनीहरुले ऋण लिएर लगानी गर्ने आँट गर्न नसकेको बताए । 

उनले भने, ‘लगानी भनेको बिउ रोपे जस्तै हो । बिउ रोपे मात्रै प्रतिफल प्राप्त हुन्छ । बिउ रोप्नलाई नै निरुत्साहित गरियो भने प्रतिफल कसरी प्राप्त हुन्छ ?’ आजको दिनमा लगानीलाई बढाइयो भने यसको प्रतिफल यसको १–२ वर्षपछि प्राप्त गर्ने हो। यदी लगानीलाई नै रोकियो भने यसको नराम्रो नतिजा पनि यसको १–२ वर्षपछि मात्रै आउँछ ।’

राष्ट्र बैंकले बैंकहरुलाई नयाँ नयाँ नियम लगाइरहँदा बैंकहरुले त्यसलाई व्यवस्थापन गर्ने नाममा कर्जा प्रवाह रोकिरहेको छन् भन्दै व्यवसायी ज्योतिले बैंकलाई तगडा बनाए पनि अर्थतन्त्र ध्वस्त छ भने यसको अर्थ हुँदैन् भने । सबै क्षेत्र सन्तुलित रुपमा अघि बढ्नुपर्ने उनको भनाई छ ।

ज्योतिले भने, ‘राष्ट्र बैंकले निक्षेपको आधारमा कर्जा प्रवाह गर्न भनेको छ । यो सही हो या गलत, आफ्नो ठाउँमा छ । तर बजार पुँजीकरणलाई आधार मान्न दिन पाउनु पर्छ ।’ बैंकहरुले सञ्चित नाफालाई पनि निक्षेपमा गणना गर्न पाउनुपर्ने उनको तर्क छ । 

चालु पुँजी कर्जासम्वन्धी मार्गदर्शनप्रति पनि व्यवसायी ज्योतिको असन्तुष्टि थियो । नेपाल जस्तो भूपरिवेष्ठित मुलुकमा उद्योगले कच्चा पदार्थ २–३ महिनाको लागि मौज्दात राख्नैपर्ने हुन्छ भन्दै तयारी सामानको पनि मौज्दात राख्नुपर्ने हुन्छ भने । उनले भने, ‘नेपालमा अधिकांश वस्तु तथा सेवाको कारोबार उधारोमा हुने गर्छ । यसले ८–९ महिना त लगानी होल्ड नै गर्नुपर्ने अवस्था हुन्छ । अब राष्ट्र बैंकले एकै पटक तीन महिनाका लागि मात्रै सुविधा दिएपछि एकै पटक छ महिनाको लागि पैसा कहाँबाट आउँछ ? आफ्नै पुँजी र क्षमता हुनेले त गर्लान । नहुनेले कसरी गर्छन् ? अहिले कतिपय उद्योग बन्द हुनु, कतिपयले उत्पादन कम गर्नुको कारण पनि त्यही हो ।’

यदी सरकारले लगानीको वातावरण जटिल बनाउँदै लाने हो भने उद्योगीहरुले विकल्प खोज्न थाल्ने उद्योगी ज्योतिले बताए । भारतसहित अरु मुलुकले लगानी भित्राउन आकर्षक नीति लिएको बेला नेपालले पनि सोअनुसारको नीति लिन नसके पछि परिने बताए । 

यो पनि पढ्नुहोस्ः 

हिरोको आधिकारिक बिक्रेता ज्योति समूहको एनजीएमलाई नै दिने हिरो मोटोकर्पको निर्णय

Advertisement

Advertisement