छानविन र पक्राउविरुद्ध त्रिवि भन्सारका कर्मचारी आन्दोलित, कार्गो जाँचपास नगर्ने !

Advertisement

काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 

सुन तस्करीको अनुसन्धान गर्ने नाममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मानसिक तनाव धेरै दिएको भन्दै उनीहरुले आन्दोलित भएका हुन् । कर्मचारीहरुले सोमबारबाट कार्गोबाट हुने जाँचपास ठप्प पार्ने घोषणा गरेका हुन् । आइतबार कर्मचारीहरुको सामूहिक बैठकले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् । 

Advertisement

गत साउन २ गते पक्राउ परेको तस्करीको ६० किलो ७१६ ग्राम सुनको अनुसन्धानका क्रममा सीआईबीले आफूहरुमाथि मात्रै अनावश्यक निगरानी गर्ने, पक्राउ गर्ने काम गरेको भन्दै यसअघि १३७ जनाले राजश्व सचिव र अर्थमन्त्रीलाई लिखितरुपमा सरुवाको माग गरेका थिए । 

सरुवा गर्न सचिव र मन्त्री नमानेपछि कर्मचारीहरुले दबाबका लागि कार्गोको जाँचपास ठप्प पार्ने निर्णयमा पुगेका हुन् । सीईआईबीले हालसम्म त्रिवि भन्सारका सात जना कर्मचारीलाई पक्राउ गरेको छ भने अन्यलाई पनि निगरानीमा राखेको छ ।  

यस्तो छ कर्मचारीहरुको आन्दोलन कार्यतालिका

१. कार्यलयमा राजस्व असूलीको असल नियतले भन्सार ऐन नियम तथा अन्य प्रचलित कानुनबमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरुलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द हुनुपर्ने ।

२. कार्यस्थलमा नियमित उपस्थित भई निर्भिक रुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्ने ।

३. अनुसन्धान गर्ने निकायले केही कर्मचारीहरु गिरफ्तार गरी हिरासतमा रहेको अवस्थामा के कति कारणले गिरफ्तार गरेको हो ? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिई अमानवीय तरिकाले गिरफ्तार गरेको हुँदा यस्ता कार्य अविलम्ब बन्द हुनुपर्ने र बिना प्रमाण थुनामा राखिएको सबैलाई रिहा गर्नुपर्ने ।

४. अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी, दोषी प्रमाणित नहुँदै संविधान प्रदत्त गोपनियताको हक बर्खिलाप हुने गरी कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य अविलम्ब बन्द गरिनुपर्ने । 

५. विभिन्न संचार माध्यमहरुबाट खुलासा भएका योजनाकार तथा सो सँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका व्यक्तिलाई संरक्षण गर्ने र राष्ट्रसेवक कर्मचारीलाई मात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्ने ।

पूनश्चः “दोषी नछुटुन, निर्दोष नपरुन भन्ने कानुनको प्रचलित सिद्धान्त अनुरुप हुने अनुसन्धानमा हाम्रो पूर्ण प्रतिबद्धता सदैव रहनेछ ।

भन्सार जाँचपासका अन्तर्राष्ट्रय मापदण्ड, नेपालको भन्सार प्रणाली, व्यापार सहजीकरण लगायतका विषयमा अध्ययन अवलोकन गरी सत्य तथ्य व्यहोरा आमसमुदायलाई सुसूचित गरिदिनुहुन आम सञ्चार माध्यमलाई समेत अनुरोध गर्दछौं ।

माथि उल्लिखित मागहरु राखी तपसिलबमोजिम बिरोधका कार्यक्रमहरु घोषणा गरेका छौं–

१. मिति २०८०–५–२४ गते सांकेतिक बिरोध स्वरुप तीन घण्टा पेन डाउन गर्ने ।

२. मिति २०८०–५–२५ र २६ गते यस कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्ने ।

३. मिति २०८०–५–२७ गतेभित्र उल्लेखित मागहरु सम्बोधन नभएमा यस कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुनसक्ने ।

४. यसबाट हुनसक्ने क्षति तथा यात्रुलाई पर्न जाने असुविधाका लागि सम्वन्धित पक्ष स्वयम् जिम्मेवार हुनुपर्नेछ ।

Advertisement

Advertisement