रेडी ट्रेड प्रालिले साढे ३ अर्बको सुन ल्याएको प्रहरीको निष्कर्ष, अझै अनुसन्धान गरिने !

Advertisement

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले दिलिप भुजेलको नाममा रहेको कम्पनी रेडी ट्रेड प्रालिले ३ सय २ किलो सुन तस्करी गरेर ल्याएको निष्कर्ष निकालेको छ । 

प्रहरीले ३ सय २ किलो सुनको बजार मूल्य ३ अर्ब ५० करोड २ लाख बिगो दाबी माग गर्दै सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ।

Advertisement

बुधबार पत्रकार सम्मेलन गर्दै सिआइबीले समयको पावन्दीका कारण पूर्ण अनुसन्धान गर्न नसकिएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सुन तस्करीको अनुसन्धान सक्किनसकेको बताइन् । 

सिआइबीका प्रमुख समेत रहेकी बज्राचार्यले भनिन्,  ‘सुन तस्करीमा पर्फेक्ट संगठित अपराध देखिएको छ, यसमा प्रयोग गरिएको टेक्नोलोजी उच्च स्तरको रहेको छ, तस्करीको प्रकृति हेर्दा वर्ल्ड क्लासकै देखिएको छ ।’

सुन तस्करीमा ७ वटा व्यावसायिक फर्म खडा गरिएको प्रहरीले जनाएको छ । सीआईबीले ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ ।

उक्त घटनामा अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेकामा १८ जना फरार रहेका बज्राचार्यको भनाइ थियो ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङ्कङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई दिएको थियो । 

ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो । सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ ।

सङ्गठित अपराध कसुरमा म्याद थप गरेर सिआइबीले घटनाको अनुसन्धान गरेको थियो । उक्त प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६० दिन म्याद पाउँछ । यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययन गर्न समय बाँकी हुन्छ ।

  

Advertisement