नेपाल चिकित्सक संघद्वारा आन्दोलन घोषणा, दोषीलाई कारवाही गर्न ७२ घण्टे अल्टिमेटम

Advertisement

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीवार राजधानीमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघका महासचिव डा.सञ्जीव तिवारीले ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरे देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिए । 

Advertisement

एक समूहले डा. थापा र बिडारीमाथि ज्यान मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै सरकारले दोषीमाथि कडा कारबाही गर्नुपर्ने उनले बताए । बुधबार डा थापा र डा. बिडारीमाथि सन्चो अस्पताल हेटौँडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा आक्रमण भएको थियो । 

तिवारीले गम्भीर घाइते भएका चिकित्सकहरूको स्वास्थ्य अवस्थ अत्यन्तै नाजुक भएको बताए । उनले चिकित्सकका परिवार एवं अन्य स्वास्थ्यकर्मीहरूलाई समेत बारम्बार धम्काइ असुरक्षित एवं आतंकित बनाइएको बताए । तिवारीले ज्यान मार्ने किसिमको घटनालाई अस्पतालको सिसिटिभीमा कैद भई सामाजिक सञ्जालभर सार्वजनिक भइरहँदा समेत सुरक्षा निकायले गम्भीरतापूर्वक नलिएको बताए । 

उनले ७२ घण्टाको अल्टिमेटम दिएर सो घटनाका दोषीहरूलाई कानूनी दायरामा ल्याई हदैसम्मको कारवाहीको माग गरे । तिवारीले देशमा कानूनी राज्यको प्रत्याभुति चिकित्सक, स्वास्थ्यकर्मीहरूले कहिले पनि गर्न नसकेको बताए । उनले नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरूलाई ज्यान मार्ने मनसायले अस्वभाविक, अकल्पनीय र अमानवीय घटना भएको बताए । 

Advertisement