उपभोक्ताको हितका लागि यस बर्ष चाँडै नै चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गरिने

Advertisement

काठमाडौं । सरकारले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर केही दिनभित्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले २–४ दिनभित्रै चाडपर्वलाई लक्षित गरेर यस्ता पसल संचालनमा ल्याउन लागिएको बताए । आईतवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मरासिनीले मूल्यवृद्धिका मारमा परेका उपभोक्तालाई राहत पनि हुने भएकाले सो पसल खोल्ने निर्णय भइसकेको जानकारी दिए । 

Advertisement

असोज १ गतेदेखि नै सो पसल संचालनमा ल्याउने निर्णय भए पनि आयातसम्बन्धि अन्य विषयका कारण केही ढिलाई हुन जाने देखिएको उनले बताए । मरासिनीले खुला बजार भएका कारण आम उपभोक्ताहरुले पनि सचेत भएर वस्तुको खरिदबिक्री गर्नुपर्ने अवस्था रहेको पनि बताए । 

उनले भने, ‘हामी २–४ दिन भित्रै गर्छौं । खासमा चाहीँ असोज १ गतेदेखि नै गर्ने भनेका छौं । यसमा हाम्रो डिसिजन भइसकेको छ । हामीले दशैं बजार लक्षित चाहीँ पसल खोल्छौं । त्यो खोलिसकेपछि पनि मूल्य वृद्धिलाई त्यसले पनि काउन्टर दिन्छ । कतिपय अवस्थामा यो इम्पोटरहरुले भारत बाहेक देशहरुबाट पनि बस्तुहरु आयात गर्न सक्छन् । राष्ट्र बैंकसँग अनुमति लिएर यो काम हुन्छ ।’

सचिव मरासिनीले कालो बजारी हुन नदिनका लागि सरकारले अनुगमनको कामलाई तीब्रता दिने र दोषी भेटिए कारबाही गर्ने पनि बताए । उपभोक्ता सचेत भए मूल्यवृद्धिमा मारमा पर्ने अवस्था नरहेको उनको भनाई छ । 

Advertisement