सुरक्षण कोष बलियो भयो भने बैंक डुब्दा पनि केही असर पर्दैन्ः डेपुटी गभर्नर मिश्र

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले निक्षेप तथा कर्जा सुरक्षण कोष बलियो भयो भने बैंकहरु डुब्दा पनि त्यसको असर नपर्ने बताएका छन् । 

बिहीबार कोषको ५०औं बार्षिकोत्सवमा उनले अमेरिकाको उदाहरण दिँदै नेपालमा पनि कोषलाई बलियो बनाउनु जरुरी रहेको बताए । मिश्रले अमेरिकामा दुई वटा बैंक डुब्दा पनि त्यहाँ कर्जा र निक्षेपको सुरक्षण राम्रो भएकाले ठूलो विषय बन्न नपाएको उदाहरण दिँदै नेपालमा पनि निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउँदा संभावित जोखिमहरु कम भएर जाने बताए । 

Advertisement

उनले भने, ‘अमेरिकामा दुई वटा बैंक डुबे । कसैलाई थाहा भएन् । किनभने त्यहाँ डिपोजिट इन्स्योर थियो । यदि नेपालमा पनि त्यस्तो हुँदो हो भनेदेखि नेपाल राष्ट्र बैंकको आधी समस्यालाई हामीले समस्याको रुपमा लिनुपर्दैन् । कोष दरियो भने । कोषको पुँजी ठूलो भयो । कोषले धान्नसक्ने भयो । अहिले हाम्रो निक्षेप ५७ खर्ब छ । त्यति नै इन्स्योर गर्न सकियो भने हाम्रो स्टाबलिटिलाई धेरै नै सहयोग पुग्छ ।

मिश्रले वित्तीय स्थायित्व कायम राख्ने राष्ट्र बैंकको प्रयासमा कोषले महत्वपूर्ण योगदान दिएको बताए । उनले निक्षेप तथा कर्जा सुरक्षणमा कोषको भूमिका स्मरणयोग्य छ भन्दै निम्नवर्गीय जनतासामु वित्तीय पहुँच अभिवृद्धि गर्न आवश्यक लगानी विस्तारका लागि बैंक तथा वित्तीय संस्थामार्फत कर्जा प्रवाह गर्न उत्प्रेरकको भूमिका कोषले निर्वाह गर्दै आएको बताए । 

विपन्न वर्गको कर्जाको सुरक्षण कोषले गरेका कारण बैंकहरुलाई कर्जा प्रवाह गर्न सहज भएको मिश्रले बताए । उनले ३० लाखबाट सुरु भएको कोषको पुँजी अहिले १० अर्बको भएको र तीन बर्ष नाफा नै गर्न सफल भएको भन्दै तर कोषको गति बढाउनु जरुरी रहेको बताए । मिश्रले आर्थिक गतिविधिको विस्तार र अन्तर्राष्ट्रिय अन्तरआवद्धतामा भएको वृद्धिसँगै वित्तीय प्रणाली जटिल र अन्तरसम्वन्धित बन्दै गएकाले जोखिम पनि आउने बताउँदै बेला बेलामा आउने आर्थिक र वित्तीय संकटले निक्षेप तथा कर्जा सुरक्षणको भूमिका बढाउनुपर्ने देखिएको बताए । 

Advertisement

Advertisement