दशैं तिहारमा शाकाहारीले मासुको विकल्प मिठाईलाई नबनाउनुहोलाः पोषणविद्

Advertisement

काठमाडौं । पोषणविद मधु थापाले शाकाहारीले मासुको विकल्पको रुपमा मिठाईलाई मान्दै आएको र त्यो गलत भएको बताएकी छिन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा दशैतिहार शाकाहारी परिकारहरुको सन्दर्भमा कुरा गर्दै थापाले मासु नखानेले मिठाई भन्दा प्रोटिन परिकारमा जोड दिनुपर्ने सुझाव दिइन् । 

Advertisement

‘मासुभन्दा धेरै प्रोटिन शाकाहारी भोजनमै छ’ 
पोषणविद् थापाले जहिले पनि प्रोटिनको नाम लिने बित्तिकै अधिकांशले मासुलाई नै सम्झिने गरेको भए पनि शाकाहारी भोजनमा पनि प्रोटिन भण्डार रहेको प्रतिक्रिया दिइन् । उनी भन्छिन्, ‘प्रोटिनको एक्सचेन्ज मिठाई होइन । नेपाली समुदायमा त मासु नखाने भन्ने बित्तिकै मिठाई खाउँ, जुस खाउँ भन्ने गरिन्छ । तर, त्यो एकदमै गलत हो । दही, दुधबाट बन्ने परिकार, तोफु, भटमासले मासुको भन्दा धेरै प्रोटिन दिने गर्छ । अहिले त शाकाहारीहरुले पनि मासु नखाए पनि अण्डा खाने गरेको पनि पाइन्छ । अण्डा खानु भयो भने त मासुको काम अण्डाले पनि गर्छ तर मासु नखाई मिठाई खाँदा त्यसले शरिरमा तागत दिनुको सट्टा असर गरिरहेको हुन्छ ।’

थापाका अनुसार नेपालमा मिठाई लगायतका गुलियो खानेकुरामा कमै अनुगमन हुने गरेको पाइन्छ । सबैभन्दा धेरै अनुगमन आवश्यकता रहेको क्षेत्रमा गुलियो पदार्थ र पेय पदार्थ रहेको छ । मिठाईमा प्याकेजिङ, बनेको मिति लगायतले निकै ठूलो पार्ने उनी बताउँछिन् । थापाले फुड पोइजनको मुख्य कारण पनि प्याकेजिङ गरिएको गुणस्तरहीन र म्याद गुज्रिएका खाने कुरा हुने भएकाले खानेकुराहरु सकेसम्म प्याक गरिएको छ भने नखाने र खाँदा प्याकेटहरु लिक भए नभएको हेर्नु पर्ने सुझाव दिइन् । 

शाकाहारीहरुका लागि पनि खानको लागि धेरै परिकार भएकाले प्लासटिकमा बेरिएका खानेकुरा भन्दा पनि आफ्नै घरमा बनाइएका ताजा परिकारहरुमा रमाउने प्रयास गर्नुपर्ने उनले बताइन् । 

थापाले पेट लाग्ने, पेट दुख्ने जस्ता मुख्यकारण खानपान शैली नमिल्नुले नै हो भन्दै प्रोटिनयुक्त खानाले शरिरमा पानीको मात्रा कमी गर्ने भएकाले सलाद, पानी, सागसब्जी निकै मात्रामा खानुपर्ने बताइन् । पेटको बिरामी हुनबाट जोगिन खानपान शैलीमा सुधार गर्न अति आवश्यक रहेको उनको सुझाव छ । 

Advertisement

Advertisement