काठमाडौं । असोज महिनामा १ खर्ब ४८ अर्बको आयात भएको छ । दशैं लक्षित बजारले आयात बढाएको हो ।
असोजमा गतवर्ष भन्दा बढी आयात भएको छ । गतवर्ष २०७९/८० को पहिलो त्रैमासमा ४ खर्बको आयात भएकोमा चालु वर्ष ४ खर्ब ७ अर्बको आयात भएको छ । यो गतवर्ष भन्दा १.६९ प्रतिशत बढी हो ।
तीन महिनामा ४० अर्ब ८७ करोडको निर्यात भएको छ । यो गतवर्षको सोहि अवधि भन्दा २.२६ प्रतिशतले कमि हो । निर्यात घटेसँगै व्यापार घाटा पनि बढेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुगेको छ। पोहोर यसै अवधिमा यस्तो घाटा ३ खर्ब ५९ करोड रहेको थियो।
भन्सार विभागले असोज महिनामा १ खर्ब ४८ अर्ब आयातबाट ४० अर्ब ८० करोड राजस्व संकलन गरेको छ ।
विभागले चालु वर्षको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्बको आयातबाट १ खर्ब ८ अर्ब ७५ करोड राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा ३७ अर्ब ६७ करोडले कम हो ।
चालुवर्ष सरकारले लक्ष्यको तुलनामा निक्कै कम मात्रै राजस्व संकलन गरेको छ । बढ्दो आर्थिक संकुचनले बजारमा माग घट्दै गएको छ । यसले आयतमा पनि असर गरिरहेको छ ।