बालीमा आजबाट हुन लागेको जलविद्युत सम्मेलनमा भाग लिन नेपालबाट ४० भन्दा बढी सहभागी

Advertisement

बाली (इन्डोनेसिया) । ‘दिगो विकासको आधार’ नाराका साथ इन्डोनेसियाको बालीमा ३ दिने अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन हुन लागेको छ । आज (कात्तिक १४) उद्घाटन हुन लागेको यस कार्यक्रममा नेपाल, भारतलगायत विश्वभरिबाट विज्ञ, कार्यपत्र प्रस्तोता तथा प्रतिनिधिको ठूलो सहभागिता हुने जनाइएको छ ।

सम्मेलनमा सहभागी हुन नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नविन सिंह, नेपाल विद्युत् प्राधिकरणका निर्देशक प्रबल अधिकारी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)का प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम, एचआईडीसीएलकै उपमहाप्रबन्धक समेत रहेका नेपाल हाइड्रो पावर एसोसिएसनका अध्यक्ष अरुण रजौरिया, अन्तर्राष्ट्रिय जलविद्युत् संघ (आइएचए) का कार्यकारी सदस्यसमेत रहेका बिजबेल इन्भेष्टमेन्ट प्रालिका संस्थापक सुशील पोखरेल, ऊर्जा डेभलपर्स प्रालिका प्रबन्ध निर्देशक भानु पोखरेल, ऊर्जा उत्पादकहरूको संस्था इपानका प्रतिनिधि लगायत ४० भन्दा बढी बाली आइपुगेका छन् ।

Advertisement

नवीकरणीय ऊर्जा विकासलाई प्राथमिकताका  साथ विकास गर्ने योजनामा रहेको इन्डोनेसियाले  सम्मेलनबाट ‘इन्डोनेसिया नै दक्षिण एसियाको हरित ऊर्जाको हब हुनसक्ने’ सन्देश दिन खोजेको सहभागीको भनाई छ । 

यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने सम्मेलनमा विश्वभरबाट जलविद्युत क्षेत्रमा काम गरिरहेका कम्पनी, उपकरण उत्पादक, परामर्शदाता लगायतको समेत सहभागिता रहनेछ ।

कार्यक्रमको उद्घाटन सत्रमा आइएचएका अध्यक्ष तथा अष्ट्रेलियाका पूर्वराष्ट्रपति माल्कोल्म टर्नबुल, इन्डोनेसियाका ऊर्जा तथा खनिज मन्त्री अरिफिन तस्रिफ लगायतले महत्त्वपूर्ण मन्तव्य राख्ने कार्यक्रम छ । यस्तै, नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव, सिंह, प्राधिकरणका अधिकारी, ऊर्जा युएएआइडीका तर्फबाट उषा खतिवडाले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

नेपालका लागि अब स्टोरेज ता पम्प स्टोरेज जलविद्युत् आयोजनाको महत्त्व बढ्दै गएको हुँदा त्यसमा केन्द्रित हुँदै यस्ता खालका आयोजनामा विदेशी लगानी भित्र्याउने उद्देश्यमाथि केन्द्रत रहेर कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । साथै, नेपाल हरित तथा नवीकरणीय ऊर्जा विकासको गन्तव्य रहेको सन्देश प्रवाह गर्दै यसमा लगानी भित्र्याउन जोड गरिने सहभागीहरूले बताएका छन् ।

Advertisement

Advertisement