‘निम्सदाई स्काइ डाईभिङ’द्धारा नेपालमा व्यवसायिक स्काइ डाइभिङ सुरु

Advertisement

काठमाडौं । ‘निम्सदाई स्काइ डाइभिङ’ नामक कम्पनीले नेपालमा व्यवसायिक स्काइ डाइभिङ शुरु गरेको छ । 

शुभारम्भको अवसरमा आइतबार र सोमबार स्याङ्बोचेमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जासहित ११ जनाले स्काइ डाइभ गरेका विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेभिड शेर्पाले जानकारी दिए । स्काइ डाइभ गर्नेमा पुर्जासहित केभिन थोमस म्याकनाली, माइकल एन्ड्रयू फ्रान्सेली, डेनियल हन्ट (महिला), स्टिफन ह्यान्डले, स्यामुअल पिटर स्टिभेन्स, रिचर्ड जेसन ह्युजेस, एस्पेन फडनेस, एम्बर कुज फोर्ट (महिला), भलेरिया अल्फोर्ड (महिला), ओमकुमार पौडेल (स्थानीय) थिए । 

Advertisement

आफूहरुले चार चरणको स्काइ डाइभ गराइसकेको शेर्पाले बताए । उनले भने, ‘नेपालमा हाम्रो कम्पनीले स्काइ डाइभिङ व्यवसायिक रूपमै सुरुवात गराएका छौं । हामी वसन्त र शरद ऋतुमा गरी दुई सिजन स्काई डाइभिङ संचालन गर्ने योजनामा छौं ।’

यसअघि पनि आफूहरुले परीक्षणको रुपमा स्याङ्बोचेमा स्काइ डाइभिङ गराइसकेको बताउँदै शेर्पाले बताए । उनले भने, ‘पहिलो चरणमा म्यान भर्सेस वाइल्डका प्रस्तोता तथा टेलिभिजन पर्सनालिटी बेयर ग्रिल्स र उनको छोराले गत वर्ष कात्तिक ३ गते स्याङबोचेमा स्काई डाइभिङ गरेका थिए । उनी परिवारसहित नेपाल आएका थिए ।’ 

त्यसपछि आफूहरुले स्याङ्बोचेमा गत वर्ष सगरमाथा आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा स्काई डाइभिङ गर्नुका साथै नेपालको झण्डा फरफराउने उद्देश्यले नै पोखरामा तयारी र अभ्यासको रुपमा स्काई डाइभिङ गराएको उनले बताए । स्काई डाइभिङको सम्भावनाको खोजी र पर्यटन प्रवर्द्धन गर्ने हिसाबले आफूहरु यसमा लागिपरेका शेर्पाले बताए । 

आगामी दिनहरुमा स्काई डाइभिङलाई बढाउँदै लैजाने र यसले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ । शेपाृले स्काई डाइभिङलाई नेपालमा हव बनाउने योजना रहेको सुनाए । यसले नेपालमा रोजगारी सिर्जना गर्नुका साथै अर्थतन्त्रमा पनि सहयोग पुग्ने उनले बताए । 

विश्वमा जुनसुकै कुनामा स्काई डाइभिङ गरे पनि नेपाल मात्र यस्तो एक देश हो, जहाँबाट ३६० डिग्री माउन्टेन भ्यू देख्न सकिन्छ भन्दै शेर्पाले स्याङ्बोचेमा स्काई डाइभिङ गर्दा ल्होत्से, चो ओयु, सगरमाथा, मकालु, कञ्चनजङ्घा, अमा दब्लम लगायत सात हजार मिटर अग्ला हिमालहरु देख्न सकिन्ने बताए । 

उनले थपे, ‘स्काई ड्राइभिङमा जोखिम छ । तर यसको संभावना पनि नेपालमा राम्रो छ । विश्वका अन्य देशमा स्काई डाइभिङ गरे पनि पर्यटकहरु नयाँ ठाउँमा गर्न र साहसिक अनुभव लिन रुचाउँछन् । त्यसैले पनि पर्यटकहरु स्काई डाइभिङको लागि नेपाल आउने सम्भावना निकै छ ।’

पर्यटकहरु नेपालका हिमालहरुको आरोहण गर्न, पदयात्रा गर्न अहिले बढी मात्रामा आउने गरेकोमा भोलिका दिनमा स्काइ डाइभिङको लागि पनि आउने संभावना छ भन्दै शेर्पाले सरकारको सम्वन्धित निकायबाट अनुमति लिएर मात्रै यो काम सुरु गरेको बताए । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नेपालको कुनै पनि ठाउँमा स्काई डाइभिङ गर्नुअघि सम्बन्धित निकाय र अन्तिममा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्ने बताए । प्रतिबन्धित क्षेत्रमा स्काई डाइभिङ गर्नको लागि स्थानीय प्रशासनले अनुमति दिनुपर्ने उनले बताए । 

भुलले भने, ‘हामीले हेलिकप्टर उडानको अनुमति दिने हो । जस्तै सगरमाथा क्षेत्रमा स्काई डाइभिङ गर्ने हो भने सगरमाथा राष्ट्रिय निकुञ्ज, गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने हुन्छ । त्यहाँबाट अनुमति लिइसकेपछि अन्तिममा अनुमति क्यानले दिने हो ।’

Advertisement