बोटलर्सको साढे पाँच अर्ब कर छलि प्रकरणः ‘अन्याय भयो’ भन्दै पुग्यो आन्तरिक राजश्व विभाग

Advertisement

काठमाडौं । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल लिमिटेड ठूला करदाता कार्यालयविरुद्ध आन्तरिक राजश्व विभाग पुगेको छ । कम्पनीले विभागमा ठूला करदाता कार्यालयको निर्णयविरुद्ध मुद्दा दायर गरेको हो । 

कम्पनीको मुद्दाउपर विभागका महानिर्देशकले निर्णय गर्नेछन् । महानिर्देशकले कम्पनीले कर तिर्न पर्ने वा नपर्ने विषयमा विचार गर्नसक्छन् । बोटलर्सले मुद्दा शाखामा पुनरावलोकनको निवेदन दिएको विभागका एक कर्मचारीले बताए । सो मुद्दामा विभागले प्रक्रिया समेत अघि बढाइसकेको छ । विभाग स्रोतका अनुसार बोटलर्सले यो मुद्दा हार्ने संभावाना बढी छ । 

Advertisement

कर्पोरेट नेपालसँग ती कर्मचारीले भने, ‘बोटलर्स नेपालले कर छलिसम्बन्धी गम्भीर कसुर गरेकोले ठूला करदाता कार्यालयकै निर्णय सदर हुने संभावना बढी छ ।’ विभागको निर्णयमा चित्त नबुझे कम्पनी राजश्व न्यायाधीकरणमा पुनरावलोकनमा जानसक्नेछ ।
ठूला करदाता कार्यालयले कोकाकोला उत्पादन गर्ने बहुर्राष्ट्रिय कम्पनी बोटलर्स नेपालले कर छली गरेको भन्दै उक्त कम्पनीलाई पाँच अर्ब ४२ करोड कर निर्धारण गरेको थियो । उक्त कर निर्धारण स्वीकार गर्न कम्पनीले आनाकानी गर्दै आएको छ । 

ठूला करदाता कार्यालयले पूर्ण कर परीक्षण (फुल अडिट) गर्दा बोटलर्स नेपालले कर छली गरेको फेला पारेको हो । कम्पनीले पुनरावलोकनका लागि एक अर्ब ३५ करोड रुपियाँ धरौटी पनि राखिसकेको छ । कम्पनीले आर्थिक वर्ष २०७१–७२ देखि कर छलि गर्न सुरु गरेको पूर्ण कर परीक्षणमा पाइएको थियो । 

नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुवईस्थित कोकाकोला साब्को एशियाको शेयर २०७१ कार्तिक ७ गते कोकाकोला साब्कोले आयरल्याण्डस्थित यूरोपियन रिफ्रेसमेन्टलाई बिक्री गरेको थियो।

सो बिक्रीबाट बोटलर्स नेपाल लिमिटेडमा रहेको निहीत शेयर स्वामित्वमा परिवर्तन भई सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको छ । यसरी गरिएको खरीद बिक्री विषयमा ठूला करदाता कार्यालयलाई जानकारी नगराउँदा विवाद बढेको हो ।

कोकाकोला साब्को र यूरोपियन युनियन रिफ्रेसमेन्टबीच शेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य तीन हजार ८८३ रहेको उल्लेख छ । 

यस्तै कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मूल्य ५३६ लाई लागतको रुपमा घटाउँदा हुन आउने रकम तीन हजार ३४७ प्रतिकित्ता पूँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टी भएको हो ।

यसरी कोकाकोला साब्को एशियाको बोटलर्स नेपालमा रहेको शेयर संख्या १४ लाख ८४ हजार ३०१ कित्ता बिक्रीबाट चार अर्ब ९६ करोड ७९ लाख ५५ हजार पूँजीगत लाभ भएको उल्लेख छ। आयकर ऐन, २०५८ को अनुसुची १ को दफा २(१) बमोजिम यसरी भएको लाभमा २५ प्रतिशतका दरले कर लाग्छ ।

पच्चिस प्रतिशतको दरले एक अर्ब २४ करोड १९ लाख ८८ हजार हुन आउँछ । ऐनको दफा ७ (१) बमोजिमको शुल्क (०.१ प्रतिशत)का दरले हुने तीन करोड ४१ हजार र ऐनको दफा ११ बमोजिमको ब्याज १५ प्रतिशतका दरले नौ करोड ७८ लाख हुन आउँछ ।

बोटलर्स नेपाल लिमिटेडको निहीत शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनीले ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिएको कार्यालयले आरोप लगाएको छ।

कम्पनीले शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडीको आयकर ऐन २०५८ को दफा ५७ को प्रक्रिया पूरा गरी आर्थिक वर्ष २०७१–७२ को छुट्टाटुट्टै आय विवरण पेश गर्नुपर्ने थियो । तर कम्पनीले राजस्व चुहावट गर्ने उद्देश्यले विवरण दिन उचित ठानेन ।

यस्तै निहीत शेयर स्वामित्वमा परिवर्तन भएको कारणले सिर्जना हुने आयकर ऐन २०५८ बमोजिमको कर दायित्व पूरा नगरी राजस्व चुहावट गर्ने उद्देश्य स्पष्ट देखिएको हो। कम्पनीले बालाजु औधोगिक क्षेत्रस्थित उद्योग स्थापना गरी कोकाकोला उत्पादन गरी बिक्री गरिरहेको छ ।

यी हुन् कर छली गर्ने सञ्चालकहरु
सयुक्त अरब इमिरेट्स (यूएई)को दुवईस्थित कम्पनी कोकाकोला साउथवेष्ट होल्डिङ लिमिटेड साविकको कोकाकोला साब्को एशिया अनुसार कम्पनीका अध्यक्षमा शुक्ल वासन छन् । यसमा आठ जना निर्देशकहरु रहेका छन्, जसमा मेल्भिन टान चुन पिन, मोहमिद अमिन घोनिम, गौरव खोस्ला सन्दिप बाजोरिय, सन्दिप बाजोरिय, देबबर्ता मुखर्जी, सुमन्त दत्त जावाहर सोलाई कुप्पुवामी र सन्केत राय छन् । सञ्चालकहरु अधिकांश विदेशी छन्।

Advertisement