अनलाइनमार्फत जुवा खेलाउने ६ जना पक्राउ, नक्कली नोटसहित ४ जना समातिए

Advertisement

काठमाडौँ । अनलाइनमार्फत सट्टेबाजी खेल खेलाएको अभियोगमा छ जनालाई आइतबार दिउँसो प्रहरीले ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनकुटा जिल्ला धनकुटा नगरपालिका–७ घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अङ्कित श्रेष्ठ, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–२ घर भई ललितपुर कुसुन्ती बस्ने २२ वर्षीय आमोश राई, उदयपुर चौदण्डीगढी नगरपालिका–३ घर भई ललितपुर थेचो बस्ने २० वर्षीया निका राई, सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–७ घर भई ललितपुर भैंसेपाटी बस्ने २९ वर्षीय विजय थापा, बाग्लुङ बरेङ गाउँपालिका–४ घर भई ललितपुर खुमलटार बस्ने २७ वर्षीय पर्वत पुन र सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–२ घर भई ललितपुर कुसुन्ती बस्ने २७ वर्षीय डेकर राई रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement

उनीहरूले अनलाइन ग्यामबलीङ तथा अनलाइन क्यासिनो खेलमा अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचना प्राप्त भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न सामाजिक सञ्जाल लगायत विभिन्न अनलाइन ग्यामबलिङ प्लेटफर्म प्रयोग गरी अनलाईन मार्फत् रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूको साथबाट ल्याप्टप छ थान, राउटर दुई थान, कम्प्युटर तीन थान, मोनिटर दुई थान, सिपीयू एक थान र मोबाइल १४ थान प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

एक किलो ९७३ ग्राम अवैध लागूऔषध कोकिनसहित भारतीय पक्राउ 
यता, अवैध लागूऔषध कोकिन एक किलो ९७३ ग्रामसहित भारतीय नागरिक ३२ वर्षीया किमरो साङ्गीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । हिमालय एयरलाइन्सबाट दोहा हुँदै काठमाडौं आएकी उनलाई काठमाडौँ महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा प्रहरीले जाँच गर्ने क्रममा सुटकेसमा फल्स बटम बनाई लुकाई ल्याउँदै गरेको उक्त कोकिनसहित पक्राउ गरेको हो । 

उनी उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

साढे तीन लाख नक्कली रूपियाँसहित दुई जना पक्राउ 
दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट नक्कली नेपाली रूपियाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका कुभिण्डे घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ बस्ने ६८ वर्षीय गोकर्णबहादुर थापा रहेका छन् । उनीहरूको साथबाट एक हजार दरका तीन लाख ४९ हजार नक्कली रूपैयाँ बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेको ना।१ ज ७२०१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त नक्कली रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रधान कार्यालयले जनाएको छ ।

नक्कली नोटसहित दुई महिला पक्राउ
यता नक्कली नेपाली नोटसहित दुई जना महिला काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शङ्खरापुर नगरपालिका–७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलबिरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुङ्गा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैयाँकुमारी घिमिरे रहेका छन् । सिर्जनाको साथबाट एक हजार दरको १४० थान र कुमारीको साथबाट एक हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ ।

सिर्जना र मैयाँ कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शङ्खरापुर नगरपालिका–७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैयाँ कुमारीलाई बूढानीलकण्ठ नगरपालिका–१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुनजस्तो देखिने पहेँलो धातुसहित पक्राउ 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन प्रवेशद्वारबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेँलो धातु करिब २७२.३७ ग्रामसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–८ घर भएका ३९ वर्षीय रामसुन्दर श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त ढोकामा जाँच गर्ने क्रममा तीन थान बेरूवा औँठीको रूपमा ल्याएको ५४।९७ ग्राम र पेन्टीभित्र फल्स बटमा बनाई प्लाष्टिकले बेरेर ल्याएको सुन जस्तो देखिने पहेँलो रङ्गको अर्धठोस वस्तु करिब २१७.४० ग्रामसहित उनलाई पक्राउ गरेको हो । बरामद सुनसहित उनलाई भन्सार कार्यालय सिनामङ्गल बुझाइने छ ।

रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीबाट करिब रु १३ लाख ८८ हजार चार सय बराबरको १२ तोला तौलको सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गेरको हो । पक्राउ पर्नेमा आमाछोदिङ्मो गाउँपालिका–५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिका–५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिदीम बस्ने २३ वर्षीय ड्वाङ लोप्साङ तामाङ रहेका छन् ।

सोही ठाउँस्थित नेपाल–चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई तीन थान बेरूवा औँठीको रूपमा ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

Advertisement

Advertisement