आर्थिक मन्दी र मर्जरका कारण बीमा सर्भेयरहरु पेशाबाटै पलायन हुने अवस्था बढ्योः जोशी

Advertisement

काठमाडौं । विगत चार दशकदेखि सर्भेयर पेशामा आवद्ध बीमा सर्भेयर सूर्यप्रसाद जोशीले आर्थिक मन्दीका कारण बीमा सर्भेयरहरु पेशाबाटै पलायन हुने क्रम तीब्र भएको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले सर्भेयर पेशा निकै संकटमा परेको बताएका छन् । सर्भेयर संघको दुई कार्यकाल नेतृत्वसमेत गरिसकेका जोशीले अहिले बीमा सर्भेयर पेशामा आकर्षण निकै घटेको र पेशाबाटै पलायन हुने क्रम बढे पनि नेपाल बीमा प्राधिकरणदेखि बीमा कम्पनीहरु मुकदर्शक बनेको बताए । 
 
उनले भने, ‘नयाँ बीमा ऐन आयो । तर सर्भेयरहरुको हकमा पहिले जस्तो पद्धतीबाट काम चलेको थियो, अहिले पनि त्यसरी नै चलेको छ । केही परिवर्तन महशुस गर्न पाइएको छैन् । बरु यो अहिलेको आर्थिक मन्दी र बीमा कम्पनीहरुमा गरिएको मर्जरका कारण हाम्रो पेशा संकटमा परेको छ । धेरै साथीहरु यो पेशामा टिक्न नसकेर पलायन भएका छन् । नयाँ आकर्षित हुन सकेका छैनन् । यसरी जुवामा च्याखे थाप्दा दाउ पर्ला कि ? भन्या जसरी काम गर्नुभन्दा पेशा परिवर्तन गर्दा सहज हुने धेरैले महशुस गरेका छन् । हामीलाई टिक्न गाह्रो भएको छ ।’

Advertisement

प्राधिकरणले सर्भेयरलाई लाइसेन्स बाँडेर संख्या मात्रै बढाउने भन्दा पनि उनीहरुको गुणस्तर विकासमा ध्यान दिनुपर्ने जोशीले बताए । उनले बीमामा राम्रो ज्ञान भएको व्यक्ति मात्रै बीमा सर्भेयर बन्नुपर्ने बताए । 

जोशीले नयाँ सर्भेयरहरुले काम गर्दै आफ्नो गल्तीबाट सिक्दै अघि बढ्नुपर्ने अवस्था रहेको बताउँदै त्यस्तो अवस्थाले कतिपय गल्ती गर्दा सर्भेयरहरुले क्षमा नै नपाउने अवस्था सिर्जना भएको बताए । हाल नेपालमा सर्भेयरका लागि जम्मा एक हप्ताको मात्रै तालिम प्राधिकरणले दिने गरेको छ । 

उनले अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसाथ गर्दै नेपालमा पनि सर्भेयरको चार वर्षे पाठ्यक्रम राख्नुपर्ने बताए । पछिल्लो समय प्राधिकरणले एक हजार चार सय जना सर्भेयरलाई लाइसेन्स बाँडे पनि अहिलेको विषयम परिस्थिति र काम गर्न असहज अवस्थाले गर्दा धेरै टिक्ने अवस्था नरहेको जोशीको विश्लेषण छ । उनले जति लाइसेन्स वितरण गरे पनि सक्रिय सर्भेयरहरुको संख्या करि १५० मात्रै रहेको बताए । 

सर्भेयरले करिब ९० प्रतिशत सर्भे मोटर बीमासम्बन्धी गर्छन । कुनै पनि निर्जीवन बीमा कम्पनीहरुले सर्भे गर्दा दुई लाख रुपियाँसम्मको क्षतिमा सर्भेयर नलगाई कम्पनीकै कर्मचारी खटाएर सल्टाउने गरेको छ । 

बीस वर्षअघि पनि सिर्जना भएको थियो असहज परिस्थिति
वरिष्ठ सर्भेयर जोशीले करिब २० वर्षअघि नेपालमा बीमा सर्भेयरहरुले आफ्नो पेशा छोडेर जानुपर्ने परिस्थिति निर्माण गरिएको स्मरण गरे । भारतीय सर्भेयरहरुलाई हावी गराइँदा नेपाली सर्भेयरहरु विस्थापित हुने अवस्था बनेको बताउँदै उनले अहिले फेरि त्यस्तै अवस्था आएको बताए । 

जोशीले बीमा सर्भेयरको काम गरेर पेट पाल्न गाह्रो हुने भएकाले इन्जिनियरहरुले अरु ठाउँमा पनि काम गर्नुपर्ने, नचाहिँदो आरोप खेप्नुपर्ने, झन्झट झेल्नुपर्ने परिस्थिति रहेको बताए । सर्भेयर पेशालाई संरक्षण गर्नुपर्ने दायित्व प्राधिकरणको भएकाले उसले एक हजार चार सय नयाँ लाइसेन्स बाँडेको भनेर प्रचार गरेर बस्न नहुने बताए । 

Advertisement