हड्डीको साइज नहेरी ऋण लिएर घाँटीमा अड्कियो भनेर हामीलाई दोष लगाउनु भएन्ः गभर्नर अधिकारी

‘अर्थतन्त्र संरचनागत हिसावले समस्यामा छ, रेमिट्यान्सको निर्भरताबारे गम्भीर भएर सोच्नुपर्छ’

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन् । 

शुक्रवार नेपाल आर्थिक पत्रकार समाजको २७ औं वार्षिकोत्सवमा उनले उद्योगी व्यवसायीहरुले बैंकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताए । 

Advertisement

अधिकारीले राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको चार अर्ब ७६ करोड रुपियाँ व्यवसायीहरुलाई फिर्ता गराएको उल्लेख गर्दै बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीहरुलाई आग्रह गरे । 

उनले व्यवसायीले बैंकले १६–१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गरे । गभर्नर अधिकारीले व्यवसायीहरुले बैंकहरुले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउनेहरुका लागि प्रोत्साहन मिल्ने बताए । 

ठूला व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशत भन्दा बढी ब्याज नतिरेको उनले दावी गरे । अधिकारीले बैंकहरुको ब्याजदर १० प्रतिशत हुँदा पनि व्यवसायीहरुले ८ प्रतिशत ब्याजमा ऋण लिइरहेको स्पष्ट पार्दै उद्योगी व्यवसायीहरुले ऋण लिनुभन्दा पहिला आफ्नो व्यवसाय योजना बनाउने नगरेको बताए । 

गभर्नर अधिकारीले आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीहरुलाई व्यक्तिगत रुपमा समस्या परेको भन्दै उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको बताए । 

उनले भने, ‘उद्योगी व्यवसायीहरुले बैंकहरुबाट ऋण लिनुहुन्छ तर आफ्नो योजना बनाउनु हुँदैन । मैले ऋण लिनुपर्ने कति हो र व्यवसायको साइज कति हो । व्यवसायीहरुले ऋण लिने बेलामा आफ्नो घाँटी हेर्नु हुँदैन । एकै चोटी हड्डीको साइज लिनुहुन्छ । अनि अड्कियो भने त्यो समस्या राज्यलाई र राष्ट्र बैंकतिर थुपर्नुहुन्छ जुन कुरा गलत छ ।’ 

अधिकारीले थपे, ‘उद्योगी व्यवसायीहरुको लागि बैंक तथा वित्तीय संस्थाहरुको ऋण नै मात्रै सबै कुरा होइन होला ? ब्याजले कति असर पर्छ ? अहिले पनि बैंकहरुबाट ठूलो व्यवसायीहरुले ६.५ प्रतिशतदेखि लिनुभएको छ । तीन वर्षदेखि अहिले पनि सुविधा लिइरहनुभएको छ । नौ प्रतिशत लिने धेरै व्यवसायीहरु हुनुहुन्छ जसले पहिले नै फिक्स गर्नुभएको छ । बैंकहरुको ब्याजदर १० प्रतिशत भइराख्दा पनि ८ प्रतिशतसम्म ब्याजमा ऋण लिने व्यवसायीहरु पनि हुनुहुन्छ । नेताहरुकामा भाषण गर्दा व्यवसायीहरुले १८ प्रतिशत ब्याज लिएको छ भन्नुहुन्छ । यति बैंकहरुको १६ देखि १८ प्रतिशतसम्म ब्याज दिएको छ भने राष्ट्र बैंकको गुनासोमा त्यो स्टेस्टमेण्ट लिएर आउनुस् । व्यवसायीहरुसँग बेसी लिएको ब्याज बैंकबाट फिर्ता गराउँछौं ।’ 

गत वर्ष बाणिज्य बैंकहरुले बढी प्रिमियम लिएको चार अर्ब ७६ करोड रकम फिर्ता गराएको स्मरण गर्दै उनले बजारमा हैवा फैलाउने हिसावले बैंकहरुले लिँदै नलिएको कुरा लियो भनेर अनावश्यक रुपमा अराजकता फैलाउने काम गरेको आरोप लगाए । 

अधिकारीले बैंकको ब्याजदर निर्धारण गर्ने कुरा राष्ट्र बैंकले बजारलाई छाडेको छ भन्दै मुलुकको अर्थतन्त्र संरचनागत हिसावले समस्यामा रहेको बताए । उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताए । 

अधिकारीले सरकार र राष्ट्र बैंकका हरेक नीतिहरु आन्तरिक उत्पादनलाई बनाउने विषयमा केन्द्रित रहेको दावी गर्दै नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढाउने स्पष्ट नीतिहरु उल्लेख भएको बताए । 

उनले राष्ट्र बैंकले बजेटलाई असहयोग गरेको भनेर लाग्ने गरेको आरोपमा गभर्नरले असन्तुष्टि व्यक्त गरे । बजेटमा भएको कुन विषयमा राष्ट्र बैकले सहयोग गरेको छैन ? भन्दै अधिकारीले प्रश्न पनि गरे । उनले अर्थमन्त्रीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै रमाइलोका लागि गभर्नर र मन्त्रीको सम्बन्ध बिग्रेको भन्नु गलत भएको उल्लेख गरे । 

अधिकारीले भने, ‘मुलुकको अर्थतन्त्र संरचनागत हिसावले समस्यामा छ । हामी सबैलाई थाहा छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । रेमिट्यान्सबाट आएको रकमले हामी आयात गर्दछौं । आयातबाट नै हामी उपभोग गर्दछौं । त्यही आयातमा कर लगाएर राज्य चलाउँछौं । अनि आन्तरिक उत्पादनलाई इगनोर गर्दछौं ।’ 

उनले थपे, ‘कयौं नीतिगत व्यवस्था आन्तरिक उत्पादन बढाउने र अर्थतन्त्रको मुख्य ड्राइभर आन्तरिक उत्पादनलाई बनाउने प्रयास नभएका भने होइनन् । भइरहेका छन् । राज्यको मुख्य दृष्टि नै त्यही छ । नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढाउने स्पष्ट नीतिहरु उल्लेख भएका छन् । त्यति हुँदाहुँदै पनि हामीले त्यो नीति अनुरुपमा काम गर्न सकिरहेका छैनौं । कुरा के आउँछ भन्दा अर्थमन्त्री र गभर्नरको सम्बन्ध, वित्त र मौद्रिक नीतिको सम्बन्धका विषयमा बढी कुराहरु आउँछन् । म स्पष्ट रुपमा भन्छु । हाम्रो सम्बन्धमा अफट्यारो र खोट केही छैन । बजेटमा भएको कुन चाहीँ नीतिलाई मौद्रिक नीतिले सपोर्ट गरेन । कुन कुरामा समस्या छ । राष्ट्र बैंकको मौद्रिक नीतिलाई राज्यको तर्फबाट कहाँबाट सहयोग भएन । त्यो कुरा मैले कही पनि फलि गरेको छैन । जब मलाई फिल र समस्या छैन । भने रमाइलोको लागि कसैले पचाउँछन् की भनेर त्यो समन्वयमा लेखेर के हुन्छ ?’

गभर्नर अधिकारीले आर्थिक शिथिलताका कारण बैंकहरुको खराब कर्जामा समस्या आएको बताए । उनले राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा थप नबढोस् भनेर नै नीतिगत रुपमा कडाइ गरेको बताए । अधिकारीले खराब कर्जाको असरले कर्जाको गुणस्तर समेत कमजोर बनाइरहेको बताए । 

उनले व्यवसायीहरुले ऋण लिँदा आफ्नो क्षमता नहेरेकाले अहिले तिर्नुपर्दा केही समस्या परेको उल्लेख गरे । अधिकारीले दक्षिण एशियामा अन्य देशको हेरेर नेपालका बैंकहरुको खराब कर्जा कम रहेको बताए । 

उनले बैंकको खुद खराब कर्जा १.५ प्रतिशतभन्दा माथि नगएको बताए । अधिकारीले नेपालको बैंकिङ क्षेत्रमा समस्या नभएको बताए । उनले राष्ट्र बैंकको नीतिको कारण बैंकहरुमा तत्काल समस्या आउने अवस्था नभएको बताए । अधिकारीले वाह्य क्षेत्र इतिहासकै धेरै बलियो अवस्थामा रहेको भन्दै १०.३ महिनाको वस्तु र सेवा आयात गर्नसक्ने क्षमता रहेको बताए । 

Advertisement

Advertisement