‘हामी आफैँलाई बचाउन पहिला हिमाल बचाऔँ’

‘सबैभन्दा अग्लो हिमाल रहेको नेपालले जलवायु परिवर्तनका असर अरूभन्दा चाँडो भोगिरहेको छ’

Advertisement

   
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जाति र सभ्यता बचाइराख्न पहिला हिमाल बचाउन आवश्यक रहेको बताए । संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजना भइरहेको कोप–२८ सम्मेलनका क्रममा हिमाली मुलुकले भोगिरहेको जलवायु परिवर्तनका असरबारे छलफल सत्रको अध्यक्षता गर्दै उनले यस्तो बताएका हुन् । 
     
दाहालले भने, ‘हिमाल, हिमाली सभ्यता एवम् हिमाली समुदायले भोगिरहेका समस्या बुझेर समाधान खोज्न जलवायु परिवर्तनसँग सम्बन्धित संवादको थालनी गर्न म आग्रह गर्दछु । हामी आफैँलाई बनाउन पहिला हिमाल बचाऔँ भनेर विश्व समुदायसँग आग्रह गर्दछु ।’
     
हिमाली देश, त्यहाँको मानवजाति र समग्र पारिस्थितिक प्रणालीले सामना गरिरहेको जलवायु सङ्कटको विषयसँग सम्बन्धित सत्र नेपालले आयोजना गरेको थियो । छलफलमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेस, किर्गिज रिपब्लिक, भूटान, स्लोभेनिया, मोन्टेनेग्रो, एनडोरालगायत देश, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्र (युएनडिपी) तथा संयुक्त राष्ट्रसङ्घीय खाद्य एवम् कृषि सङ्गठन (एफएओ) लगायतका प्रतिनिधि र जलवायु क्षेत्रमा काम गरिरहेका विश्लेषकको सहभागिता रहेको थियो ।     
     
हिमाली मुलुकमा जलवायु परिवर्तनका असर बढी देखिएको र यस्ता असर देखिएका ठाउँमा मृत्युदर पनि बढेको अध्ययनबाट देखिएको बताउँदै दाहालले भने, ‘हिमालमा जलवायु परिवर्तनको असर बढ्नु समग्र मानवजाति र पारिस्थितिक प्रणालीका लागि खतराजनक छ । ‘इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेञ्ज’ (आपीसीसी)को पछिल्लो प्रतिवेदनअनुसार मानव सिर्जित ‘ग्लोबल वार्मिङ’का कारण निकै ठूला र अभूतपूर्ण समस्या सिर्जना भएका छन् । चक्रवात, बाढी, खडेरीलगायत जोखिम भएका क्षेत्रमा मृत्युदर १५ गुणा बढी देखिएको छ । यो स्वीकार्य छैन ।’

उनले विश्वको सबैभन्दा अग्लो हिमाल रहेको नेपालले जलवायु परिवर्तनका असर अरू देशको भन्दा चाँडो भोगिरहेको बताए । हिमाली पारिस्थितिक प्रणाली र त्यहाँको नागरिक जीवन प्रत्यक्ष रुपमा जोडिने भएकाले जलवायु परिवर्तनका कारण सिर्जना भएका समस्यालाई विश्व समुदाय मिलेर समाधान खोजिनुपर्ने उनले बताए । 

Advertisement

दाहालले भने, ‘विश्व नेताहरु हिमाल, हिमाली पारस्थितिक प्रणाली र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एक साथ हिँड्नुपर्छ ।’ हिमाली मुलुकले संयुक्त र एकमुष्ट रुपमा आवाज उठाउँदा जलवायुसँग सम्बन्धित असरबारे विश्व समुदायलाई अझ बढी बुझाउन र ध्यान केन्द्रित गर्न सकिने पनि उनले बताए । 
     
कोप सम्मेलनमा आयोजित यो सत्रको उद्देश्य हिमाल, हिमाली सभ्यता, हिमाली पारस्थितिक प्रणाली र हिमालका बासिन्दाको संरक्षण र प्रवद्र्धन गर्नु रहेको छ । उक्त सत्रमार्फत हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्ताएका साझा समस्या र चुनौती समाधानका लागि सहयोग र ऐक्यबद्धता जनाउन पनि प्रधानमन्त्री दाहालले विश्व समुदायसँग अपिल गरे । यनले ‘ग्लोबल वार्मिङ’लाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्ने गरी भएको सम्झौताबारे स्मरण गराए । 

Advertisement

Advertisement