अर्थमन्त्रीलाई भेटेर दिए विश्व बैंकका प्रतिनिधिले बधाई, सहायता बढाउन पुनको आग्रह

Advertisement

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले नेपालमा थप सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन् । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने निर्देशक फेरिस हदाद जेर्बोससँग सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गरेको मन्त्रालयको भनाई छ । 

नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई दिन जोर्बेस अर्थ मन्त्रालय पुगेका थिए । विश्व बैंक नेपालको ठूलोमध्येको विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि  उच्चस्तरकै रहेको भन्दै मन्त्री पुनले सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता पैदा गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको नीति सफल बनाउन महत्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेको बताए । 

Advertisement

पुनले भने, ‘कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ’, पुनले भने, ‘यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा गरेको छु ।’ 

आफूसँग विगतमा अर्थसहित विकासे मन्त्रालय सम्हालेको अनुभव रहेको र १२ वर्षपछि फेरि अर्थ मन्त्रालयको नेतृत्वमा आएकाले पुँजिगत खर्च बढाउने गरी काम गर्ने विश्वास पुनले व्यक्त गरे । उनले विश्व बैंकको लगानीमा निर्माण हुने भनिएको महत्वाकांक्षी माथिल्लो अरुण जलविद्युत आयोजना, स्थानीय सडक, डिजिटल नेपालसम्बन्धी आयोजनाको काम अगाडि बढाइने बताए । 

भेटमा निर्देशक जेर्बोसले विश्व बैंकको लगानीमा सञ्चालित आयोजनाहरुको प्रगति सन्तोषजनक बनाउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वयका लागि मन्त्री पुनको ध्यानाकर्षण गराए । उनले विश्व बैंकले निर्माण गर्दै गरेको नयाँ साझेदारी रणनीतिको खाकाबारे समेत मन्त्री पुनलाई अवगत गराए । 

उनले आगामी जुनमा काठमाडौंमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१ सम्बन्धी बैठकको तयारीबारे मन्त्री पुनलाई जानकारी दिएका थिए । आईडीएले विकासोन्मुख मुलुकका लागि वित्तिय सहायता, सहुलियतपूर्ण ऋण र अनुदान प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement