राजश्व लक्ष्यअनुसार नउठेको बेला सरकारलाई राष्ट्र बैंकले आफ्नो नाफाबाट २५ अर्ब दिने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षको नाफाबाट सरकारको कोषमा २५ अर्ब रुपियाँ दिने भएको छ । गत आवमा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार नाफा कमाएको राष्ट्र बैंकले सरकारलाई २५ अर्ब दिने भएको हो ।  

राष्ट्र बैंक सञ्चालक समितिले गत आवको लेखापरीक्षण प्रतिवेदन पास गर्दै नियमानुसार विभिन्न कोषहरुमा छुट्टाउनुपर्ने रकम छुट्टाएर बाँकी रकम सरकारी कोषमा रकम दाखिला गर्ने राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले बताए । 

Advertisement

उनले विभिन्न कोषमा छुट्टाउनुपर्ने रकम छुट्टाएपछि बाँकी रकम सरकारी कोषमा जम्मा हुने हो भन्दै यसमा नाफाबाट सरकारलाई कति प्रतिशत जाने ? भन्ने नहुने बताए । 

आर्थिक वर्ष २०७८–७९ मा ६१ अर्ब ९८ करोड ७ लाख १३ हजार नाफा कमाएको राष्ट्र बैंकले गएको आवमा नाफा बढाएको हो । राष्ट्र बैंकको खुद सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९३.४९ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ३.६३ प्रतिशत र अन्य सञ्चालन आम्दानीको अंश २.८८ प्रतिशत रहेको छ । 

लेखापरीक्षण प्रतिवेदनअनुसार विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी १९.७६ प्रतिशतले वृद्धि भई दुई अर्ब ४३ करोड २६ लाख रुपियाँ कायम भएको छ भने अन्य जरिवानालगायतका आम्दानी एक अर्ब ९२ करोड १९ लाख ८३ हजार रुपियाँ रहेको छ ।

Advertisement

Advertisement