चार महिनामा पाँच खर्ब १२ अर्ब ५० करोडको सामान आयात हुँदा जम्मा ५० अर्ब ५७ करोडको निर्यात

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले कमी आई चार खर्ब ६१ अर्ब ९४ करोड रुपियाँ कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको उक्त अवधिको देशको आर्थिक अवस्थामा व्यापार घाटा केही घटेको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.९ प्रतिशत रहेकोछ जुन निकै भयाबह हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.३ प्रतिशत रहेको थियो ।

Advertisement

पहिलो चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आई ५० अर्ब ५७ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो । 

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४.५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३०७.९ प्रतिशत र ४.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।

यो चार महिनामा कुल वस्तु आयात ३.८ प्रतिशतले कमी आई पाँच खर्ब १२ अर्ब ५० करोड रुपियाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.५ प्रतिशत र २७.७ प्रतिशतले घटेको छ भने
चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ । 

वस्तुगत आधारमा तयारी पोशाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.५३ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.४२ अर्ब ६९ करोड बराबरको भएको थियो ।

Advertisement

Advertisement