ठूला विदेशी प्रविधि कम्पनीले गत आवमा १२ महिनाको तिरेको कर यो बर्ष ५ महिनामै तिरे

Advertisement

काठमाडौं । विदेशी प्रविधि कम्पनीहरुलाई लगाइएको कर डिजिटल सर्भिस ट्याक्स (डीएसटी) संकलन बढेको छ । गएको आर्थिक वर्षबाट सुरु गरिएको यस्तो कर उल्लेख्य मात्रामा बढेको सरकारी विवरणमा देखिएको हो । 

यस आर्थिक बर्षको पहिलो पाँच महिनामा १२ करोड दुई लाख रुपियाँ डीएसटी संकलन भएको छ । गत आर्थिक बर्षको पूरा १२ महिनामा यस्तो कर १२ करोड रुपियाँ मात्रै संकलन भएको थियो । गत बर्ष डीएसटी तिर्ने प्रविधि कम्पनी नौ वटा मात्रै थिए भने अहिले १२ वटा पुगेका छन् । 

Advertisement

ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक जनकराज शर्माले भने, ‘डीएसटीमा सहभागिता बढेको छ । गत वर्ष उठेको कर यो वर्षको पाँच महिनामै संकलन भइसकेको छ । पोहोरभन्दा दोब्बर कर संकलन हुने अनुमान गरेका छौं ।’

डीएसटीसम्बन्धमा आर्थिक ऐन २०७९ ले व्यवस्था गरेको थियो जसमा गैरवासिन्दा व्यावसायीहरुलाई कुल कारोबारको २ प्रतिशत कर तोकिएको छ । वस्तु तथा सेवाको खरिदमा १३ प्रतिशत कर लाग्ने व्यवस्था छ । 

हाल नेपालमा कम्पनी खडा नगरिकन कारोबार गर्ने कम्पनीहरु मेटा, गुगल, माइक्रोसफ्ट, अमेजन, नेटफ्लिक्स आदि ठूला करदाता कार्यालयमा दर्ता भएका छन् । सरकारले लोकप्रिय चिनियाँ एप टिकटकलाई भने प्रतिबन्ध लगाएको छ । 

टिकटकले पनि चालु आर्थिक वर्षमा नै दर्ता भएर धमाधम कारोबार गर्न सुरु गरिसकेको छ । चालु वर्षमा मात्रै उक्त कम्पनीले एक करोडभन्दा बढी कर दाखिला गरिसकेको छ । तर सरकारले भने टिकटकलाई नेपालमा अहिले व्यवसाय गर्न प्रतिबन्ध लगाएको अवस्था छ । 

Advertisement