पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन योजना बनाउनेहरुलाई कारबाही हुनुपर्ने यादवको तर्क

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् । 

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवमा उनले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा कुनै दीर्घकालिन योजना बिना विमानस्थलमा अर्बौंको लगानी गराउनेलाई कारबाही गर्न आवश्यक रहेको बताएका हुन् । 

Advertisement

बिना योजना विमानस्थलमा अर्बौं लगानी गराउनेहरु विमानस्थल चलेन भनेर उम्कन नपाउने उल्लेख गर्दै यादवले योजना बनाउने सबै जना दोषीको भागिदार हुनुपर्ने बताए । कुनै पनि लगानी बिना लक्ष्य, उद्देश्य र बिजनेस बिना गर्न नहुने उनको तर्क छ । 

जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो दीर्घकालीन परियोजना हचुवाको भरमा बनाउनुको पछाडि स्वार्थ रहेको भन्दै समितिले अध्ययन गर्ने बताए । उनले पोखरा विमानस्थलको सम्पूर्ण फाइलहरु समितिले मगाएको बताए । 

फाइलहरुको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गरिने यादवको भनाई छ । उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले समेत बिजनेस गर्न नसकेको बताउँदै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई देखाएर निजगढ विमानस्थल बनाउन नदिने खेल भइरहेको बताए । 

विकास बिरोधी र मधेस बिरोधी चिन्तन भएकाहरु काठमाडौंको पाँचतारे होटलमा बसेर निजगढ विमानस्थल बनाउन नहुने बहस गरिरहेको यादवले आरोप लगाए । उनले भने, ‘उड्डयन भनेको नेपालको लागि नेपाललाई आर्थिक रुपमा समृद्ध, नेपाललाई अन्तर्राष्ट्रिय रुपमा सम्मान जनक ब्राण्डिङ र बेरोजगारीको समस्या समाधान गर्न हो भने यो क्षेत्रमा विकास गर्न सकियो भने नेपालको जीडीपीमा सबैभन्दा ठूलो योगदान पुग्नसक्छ भने रोजगारीको क्षेत्रमा पनि ठूलो भूमिका खेल्नसक्छ । यसको सुधारको लागि हामी सबैले के गर्यौ भन्ने विषयमा आफैँले आफैँलाई मूल्याङ्कन गर्न जरुरी छ ।’ 

यादवले थपे, ‘पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थलको कुरा गर्दा निजगढ विमानस्थलसँग जोडिदिने काम भइरहेको छ । जुन एउटा विकास बिरोधी र अर्को मधेस बिरोधी चिन्तन रुपमा काठमाडौंको पाँचतारे होटलमा बसेर बहस गर्ने काम भएको छ । पोखरा विमानस्थल बनाउँदा दीर्घकालिन योजना थियो की थिएन । आज किन विमानस्थल चलेन भनेर उनीहरुलाई सोध्नुपर्ने हो । आज चलने भनेर उम्कन पाउँछ । ती सबै जना दोषीको भागिदार हुनुपर्छ । नत्र काराबाही गर्नुपर्छ । कुनैपनि लगानी बिना लक्ष्य, उद्देश्य र बिजनेस बिना गरिँदैन । थप पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो दीर्घकालीन यति ठूलो परियोजना त हचुवाको भरमा बनाउने कुरै हुन्न,यसको पछाडि क–कसको स्वार्थ छ, समितिले अध्ययन गर्दैछ । पोखरा विमानस्थलको सम्पूर्ण फाइलहरु समितिले मगाएको छ, यथार्थ छानविन हुन्छ र दोषीलाई कारबाही हुन्छ ।’

Advertisement