राजा र राजसंस्थाविरुद्ध फेरि खनिए ओली, ‘अढाइ सय वर्षसम्म राजसंस्थाले हामीलाई चुस्यो’

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली फेरि राजा र राजसंस्थाविरुद्ध खनिएका छन् । नेपाली कांग्रेसले सोमबार गरेको एक कार्यक्रममा उनले नेपालमा राजतन्त्रको बहस आवश्यक नै नभएको जिकिर गरे । 

पछिल्लो समयमा राजा र राजसंस्थाको पक्षमा जनताको आकर्षण बढ्दै गएको बेला ओलीले जन्मँदै शासक हुने सिद्धान्त पाखण्डी भएको दोहोर्याए । राजतन्त्र सामन्तवादको अवशेष भएको उनको तर्क छ । ओलीले अरु देशमा राजसंस्था छ भने राजनीतिक कारणले सम्झौता भएर रहेको हुनसक्ने तर्क गर्दै राजसंस्थाले अढाई सय बर्ष जनतालाई चुस्ने काम गरेको गम्भीर आरोप लगाए ।  

Advertisement

नेपालमा पनि २०५८ सालमा भएको दरबार हत्याकाण्डकै बेला राजतन्त्र सक्किएको टिप्पणी गर्दै ओलीले त्यतिबेला उपयुक्त कदम नचाल्ने कमजोरी गरेको हुनाले केही दिन डमी राजतन्त्र चलेको जिकिर गरे । 

ओलीले भने, ‘त्यसले तमासा देखायो, अनि हटाउनुपर्यो । कुनै प्रोगेसिभ कुरा बाइमिस्टेक गएको भए फर्काउँथ्यौं होला । तर त्यो त अढाइ सय वर्षसम्म जनतालाई चुसेर गरिब बनाउने अनि त्यसलाई फेरि ल्याउने भन्ने कहीँ हुन्छ ? राजनीतिक, दार्शनिक सैद्धान्तिक, वैचारिक कुनै पनि हिसाबले हुँदैन ।’

एकथरी मान्छेहरुले राजतन्त्र भयो भने राष्ट्रियता बलियो हुन्छ भन्ने गरेको बताउँदै ओलीले भने, ‘सिक्किम राजासहितको स्वतन्त्र देश थियो । राजा हुँदा देश बच्दोरहेछ ?’ यद्यपि सिक्किममा जननिर्वाचित भनिएका प्रतिनिधिले नै भारतीय सेनासँग मिलेर आफ्नै राजाको हत्या गराउने र देश भारतमा मिलाउने काम गरेका थिए । 

राजसंस्था पक्षधरहरुप्रति व्याङ्ग्य गर्दै उनले थपे, ‘कस्तो राजा ल्याउन खोजेको ? दलहरुलाई जेलमा हाल्ने एकदम तानाशाह राजा बनाउन खोजेको भन्दा पनि होइन भन्छन् । संवैधानिक राजा बनाउन खोजेको भन्छन् । सेरेमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त । अनि के गर्छ त त्यो राजाले चाहिं ? ट्वाल्ल हेर्ने बाहेक त केही गर्ने त होइन सेरेमोनियल राजाले । अनि त्यहाँ लगेर राख्नेबित्तिकै के हुन्छ त ?’

Advertisement