भारतीय लगानीकर्तालाई अर्थमन्त्रीले देखाए लगानीका लागि बढी प्रतिफल पाइने चार क्षेत्र

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमको कार्यक्रममा उनले नेपालमा जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य हुनसक्ने बताए । 

महतले यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने बताए । उनले भने, ‘यी चार क्षेत्रमा लगानीका मुख्य आकर्षण रहेको छ । यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुनसक्छ ।’

Advertisement

नेपालको ५० प्रतिशतभन्दा धेरै क्षेत्रफल उच्च पहाडी क्षेत्रअन्तर्गत पर्छ भने २० प्रतिशत क्षेत्रफल समथर भूभाग छ भन्दै महतले यसबाहेक बाँकी क्षेत्र हिमालय पर्ने बताए । यी क्षेत्रमा लगानी गरेर आफ्नो अरु साथीहरुलाई पनि नेपालबारे जानकारी दिन उनले आग्रह गरे । 

मन्त्री महतले भने, ‘जलविद्युत क्षेत्रका नेपालले फड्को मारेको छ । भारतले १० हजार मेगावाट खरीद गर्ने सम्झौता गरेको अवस्थामा अन्य वस्तुहरुको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्छ ।’

नेपालबारे अस्थिर राजनीतिक व्यवस्था रहेको गलत प्रचार भइरहेको भन्दै उनले नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको दाबी गरे । महतले नेपाल दक्षिण एसियाकै उत्कृष्ट लगानी गन्तव्य बन्नसक्ने दावी पनि गरे । 

आगामी दिनमा व्यावसायिक वातावरण थप मजबुत बन्ने उनको जिकिर छ । महतले नेपाल–भारत व्यावसायिक सम्मेलनमा सहभागी सबै भारतीय व्यावसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे । उनले वैशाखमा लगानी सम्मेलनको आयोजना गर्न लागेको स्मरण गराए । 

महतले लगानीसम्बन्धी सम्पूर्ण कानुन, नीति नियम सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानीलाई सहज गर्न पूराना कानूनहरुलाई परिमार्जन गर्दै लैजाने बताए । नेपालमा सयौं पर्यटकीय स्थल भए पनि सडकको अवस्थाका कारण त्यसको पूर्ण उपयोग गर्न नसकिएको उनले बताए । 

मन्त्री महतले आगामी दिनमा सडक निर्माणमा समेत ध्यान दिइने बताए । उनले नेपालका निजी क्षेत्र र भारतको निजी क्षेत्रबीच सहकार्य गरेर व्यावसाय तथा लगानीका लागि काम गर्न सुझाव दिए । लगानी सम्मेलन अगाडि विदेशी लगानीकर्ताले नेपालको लगानी सम्भाव्यताबारे जानकारी लिने उनले बताए । 

Advertisement

Advertisement