‘अपर मोदी’ जलविद्युत् बनाउन जुट्यो लगानी, लागत १० अर्ब ५७ करोड

Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमातहतको कम्पनी मोदी जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको माथिल्लो मोदी (अपर मोदी) ‘ए’ जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापनको टुंगो लागेको छ । ४२ मेगावाट क्षमताको सो आयोजनामा एनएमबि बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीबीच सोमबार सम्झौता भएको छ । 

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने मोदी खोलामा बन्ने सो आयोजनाको लागत निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपियाँ रहेको छ । आयोजनाको वित्तीय व्यवस्थापनका लागि मोदी जलविद्युत् कम्पनी र एनएमबी तथा एचआइडिसिएलबिच २०७८ साल चैतमै प्रारम्भिक समझदारी भएको थियो ।  

Advertisement

कुल लगानीमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानीमा आयोजनाको वित्तीय मोडालिटी टुंगो लागेको हो । सम्झौताअनुसार उक्त आयोजनामा एनएमबीले चार अर्ब ४० करोड रुपियाँ र एचआइडिसिएलले तीन अर्ब रुपियाँ ऋण लगानी गर्ने भएका छन् । बाँकी स्वपुँजी रकम नेपाल विद्युत् प्राधिकरण र आमसर्वसाधारणको सेयरबाट जुटाउने प्रबन्ध गरिएको छ ।

निर्माण सुरु भएको चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्र कागजात तयार भइसकेको जनाइएको छ । वातावरणीय प्रतिवेदन स्वीकृत भइसकेको आयोजनाको प्रसारण लाइन निर्माणका लागि प्रारम्भिक वातावरणीय अध्ययन सम्पन्न भइसकेको प्रवर्धक कम्पनी मोदी जलविद्युत् कम्पनीले जनाएको छ । 

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो तयारी पछि अहिलेको अवस्थामा पुगेको र अब छिट्टै निर्माणको चरणमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । प्राधिकरण अब सय मात्र नभई हजार मेगावाट क्षमताका आयोजना बनाउने तयारीमा रहेको उनको भनाइ छ । 

बैकमा प्रमुख कार्यकारी अधिकृत सुनील केसीले जलविद्युत् क्षेत्रमा वित्तीय संस्थाले ठुलो लगानी गर्ने अवस्था रहेकाले ‘ब्लेन्डेड फाइनान्स’ मोडलमार्फत ठूला र महत्वपूर्ण आयोजना बनाउने अवसर रहेको उल्लेख गरे । 

Advertisement