भन्सार विभागले पुसमा अशुल गर्यो ९ प्रतिशत बढी महशुल, तर लक्ष्यभन्दा निकै कम

Advertisement

काठमाडौ । भन्सार विभागले गएको पुस महिनामा ३४ अर्ब ८६ करोड राजश्व संकलन गरेको छ । यो रकम गत बर्षको सोही महिनाको तुलनामा ९ प्रतिशतभन्दा बढी हो । यद्यपि यो लक्ष्यभन्दा निकै कम हो । 


भन्सार चुहावटमा गरिएको कडाई र गस्तीले गर्दा भन्सार महशुल असुलीमा सुधार आएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।राजनीतिक दबाबमा धेरै लक्ष्य तोकिएकाले लक्ष्य भेट्न नसकिएको विभागको भनाई छ । 

Advertisement

पुसमा विभागले ५४ अर्ब ४४ करोड भन्सार महशुल संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यभन्दा १९ अर्ब ५८ करोड कम संकलन भएको हो । विभागले पुससम्म दुई खर्ब २० करोड महशुल असुल गरिसकेको छ । यो लक्ष्यभन्दा एक खर्ब रुपियाँले कम हो । 

बढ्दो आर्थिक मन्दीले माग र खपत घट्दै जाँदा आयातमा निरन्तर गिरावट आउन थालेको छ । आयात घट्दा राजश्व संकलनमा समेत असर पर्न थालेको छ । 

चालु वर्ष भन्सार विभागले मात्रै छ खर्ब २७ अर्ब महसुल असुल गर्नर् लक्ष्य लिएको छ । विभागले लक्ष्य पूरा गर्नका लागि अब चार खर्ब २७ अर्ब राजश्व संकलन गर्नुपर्ने हुन्छ, जुन निकै कठिन छ ।   

Advertisement