इपिएस परीक्षा दैनिक पाँच सिफ्टमा सञ्चालन

Advertisement

काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखालाई यसपटक उत्पादनतर्फको भाषा परीक्षा व्यवस्थापन गर्न सकस परेको छ । दक्षिण कोरियाको उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको संख्या अनुमानभन्दा धेरै आवेदन परेपछि इपिएस शाखालाई भाषा परीक्षा व्यवस्थापन गर्न गाह्रो भएको हो । 

इपिएस शाखा र कोरिया मानव संसाधन बोर्ड (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेको तर अनुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ । इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरेकोमा एक लाख ६४ हजारभन्दा बढीले आवेदन दिएका छन् । 

Advertisement

शाखाका अनुसार इपिएसअन्तर्गत लिइने भाषा परीक्षा समयमा सम्पन्न गर्न र परीक्षा तालिका सार्वजनिक गर्ने विषयमा कोरियन पक्ष (एचआरडी) सँग छलफल भएको छ । शाखाकी निर्देशक मैयाँ कँडेलले यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले आउँदो ६ गतेदेखि प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि तयार भएको जानकारी दिइन् । 

शाखाले दैनिक चार चरणमा आठ सय जनाले भाषा परीक्षा दिन सक्ने गरी पूर्वाधार तयार गर्दै आएको तर परीक्षार्थी धेरै भएकाले एक सिफ्ट थपेर पाँच वटा पु¥याउने तयारी गरेको उनले बताइन् । यसअघि भैँसेपाटीस्थित परीक्षा केन्द्रमा युविटी टेस्ट ट्याब जडान गरेर भाषा परीक्षा लिइँदै आएको थियो । 

इपिएस शाखाका निर्देशक कँडेलका अनुसार भाषा परीक्षामा एक लाख ६४ हजारभन्दा बढी सहभागी हुने भएपछि त्यहाँ रहेको पूर्वाधारबाट समयमा परीक्षा नसकिने भएपछि थप परीक्षा सामग्री माग गरिएको छ । दैनिक एक हजारले भाषा परीक्षा दिन सक्ने गरी शनिबारसमेत परीक्षा सञ्चालन गर्ने तयारीका साथ काम गरिरहेको उनको भनाइ छ । 

इपिएस शाखाका अनुसार पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइने छ । त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुने शाखाले जनाएको छ ।

Advertisement