सरकारी नीतिले हेलिकप्टरको व्यापारमा ९० प्रतिशत गिरावट, राज्यलाई पनि ठूलो नोक्सान

Advertisement

काठमाडौं । गत वर्षको अफ सिजन (शरद ऋतु)को तुलनामा यस वर्षमा हेलिकप्टरको व्यापार झन घटेको छ । हेलिकप्टरको व्यापार करिब ९० प्रतिशत घटेको व्यावसायीहरु बताउँछन् । 

व्यापार घटनुको मुख्य कारण ‘माउण्टेन फ्लाइट’ (पर्वतीय उडान)मा आएको गिरावट हो । सरकारको नीतिका कारण कालापत्थरमा अवतरण गरेर फोटो खिच्न आउने पर्यटकहरुमा भारी गिरावट भएको छ । सरकारले दुई जना मात्र अवतरण गर्न पाउने व्यवस्था गरेपछि हेलिकप्टरको व्यापारमा करिब ९० प्रतिशत घटेको हेलि एभेरेष्टका बजार व्यवस्थापन प्रमुख सीताराम सापकोटाले बताए । 

Advertisement

उनले भने, ‘यो समयमा गत वर्ष धेरै नै विदेशी पर्यटकहरु ‘माउण्टेन फ्लाइट’ र कालापत्थरमा अवतरण गरेर फोटो खिच्न आएका थिए । तर यस वर्षको अफ सिजनमा पर्यटकहरु संख्या पूरै घटेको छ । ‘माउण्टेन फ्लाइट’बारे सोधपुछ पनि एक्दम थोरै आएको छ । अहिले ‘माउण्टेन फ्लाइट’ गर्दा दुई जना मात्र अवतरण गर्न पाउने नियम बनाइदिएको छ । हेलिकप्टरको व्यापार घट्नुको कारण यही नै हो ।’

सापकोटाका अनुसार विशेषगरी विदेशी पर्यटकहरु  ‘माउण्टेन फ्लाइट’ गर्ने र कालापत्थरमा अवतरण गरेर फोटो खिच्न आउने गर्थे । जोसँग धेरै समय हुँर्दैन, उनीहरुले कालापत्थरमा अवतरण गरेर सगरमाथाको अवलोकन गर्ने र फोटो खिच्ने सपना पूरा गर्थे । त्यो नै नपाउने भएपछि यस बर्ष माउण्टेन फ्लाइटका लागि आउने पर्यटक निकै घटेको र सोधपुछ पनि निकै कम आएको उनले बताए ।

उनले थपे, ‘अहिले लुक्लाबाट जुन ‘फोर ल्यान्डिङ’को प्रावधान बनाइएको छ । ‘आउटअफ एयरपोर्ट’ चाहिँ ‘फोर ल्यान्डिङ’को भनेको लुक्लाबाट उडान गरिसकेपछि कालापत्थर जान नै ५–६ ल्याण्डिङ हुन्छ । कालापत्थरमा दुई जना लिएर जाउ, फेरि आउ गर्दा कसरी संभव हुन्छ । अहिलेको नियमले ‘आउट अफ एयरपोर्ट फोर ल्यान्डिङ’ मात्र दिएको छ । त्यो हटाइएन भने अब आउने एक्स्पेडिशनको सामानहरु कसरी लैजाने, हिमालको ‘बेस क्याम्प’सम्म ? त्यो पनि अर्को समस्या हुनेछ ।’

वसन्त ऋतु सुरु हुन लागेकोले सम्बन्धित निकायले हेलिकप्टर उडानमा रहेको यो समस्यामा सहजीकरण गरिदिने हेलिकप्टर व्यावसायीहरुले आशा गरेको सापकोटाले बताए । राम्रो मौसममा सुरक्षालाई उच्च प्राथमिकता दिई फोर ल्यान्डिङको प्रावधानलाई घटीमा पनि ‘टेन (दश) ल्यान्डिङ’ गरिदिएदेखि अफ सिजनमा हुने हेलिकप्टर व्यापारमा पनि र हिमाल तिर हुने एक्स्पेडिशनको सामान तथा आरोही लान लैजान पनि सहज हुने उनले बताए । 

सापकोटाले भने, ‘विदेशीहरु नेपालमा कालापत्थर जाने र सगरमाथाको अगाडी फोटो खिचाउन भनेर आउने हो । कालापत्थर नै जान नपाएपछि सोधपुछ आउने कुरा भएन् । यसरी कालापत्थर पुग्ने पर्यटकहरु नै थोरै छन् । यसले गर्दा नेपालमा आउने विदेशी मुद्रा पनि नभित्रिने भयो । विदेशी नेपालमा हेलिकप्टरमा ‘माउण्टेन फ्लाइट’ गर्न आउँदा उनीहरु दुई–तीन दिन होटलमा बस्छन् । ‘साइड सिन’ (दृश्यावलोकन)मा जान्छन् । त्यसले हेलिकप्टरको लागत आउने, राज्यलाई राजश्व आउने, राष्ट्रिय निकुञ्ज, गाउँपालिका लगायतलाई सबैलाई नै फाइदा हुन्छ ।’

उनले हेलि एभरेष्ट गत बर्ष सिजनमा एक दिनबाहेक सबै दिन उडान गरेको स्मरण गर्दै अहिले हेलिकप्टर घाम तापेर बसिरहेको बताए । 

Advertisement