मुग्लिन-पोखरा सडक : पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’ द्वारा कालोपत्रे सुरु
प्रतीकात्मक तस्बिर

Advertisement

दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्रे सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्रे थालनी गरेको हो ।

पहिलो दिन बिहीबार ४२० मिटर एकतर्फी सडक कालोपत्रे भएको पश्चिम खण्डका इञ्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले जानकारी दिए । उनका अनुसार फागुनको अन्तिमसम्म एकतर्फीरुपमा पाँच किलोमिटर खण्ड कालोपत्रे गर्ने लक्ष्य छ । 

Advertisement

उनले आजदेखि म्याग्दे गाउँपालिकास्थित जामुने र शुक्लागण्डकी नगरपालिकास्थित बेलचौताराबाट पनि कालोपत्रेको काम अगाडि बढ्ने जानकारी दिए । उनले भने, “अब कामले तीव्रता पाउँछ, निरन्तर कालोपत्रेको काम अगाडि बढ्छ । आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा छन् ।”

पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्रे हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्रे गरिने उनले जानकारी दिए । सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रेको कामलाई अगाडि बढाएको हो । 

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो । 

पश्चिम खण्डमा हाल २० किलोमिटर कालोपत्रे गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्रे हुने जनाइएको छ । 

यसैगरी पूर्वी खण्डमा भने १९.५ किमी सडकखण्ड कालोपत्रे भइसकेको छ । आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म उक्त दूरीमा कालोपत्रे सकिएको हो । मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्रे सकिएको जानकारी दिए । त्यसमध्ये ७.२ किमी खण्डमा दुईतर्फी नै कालोपत्रे सकिएको छ ।

पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रेको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । 

Advertisement