नयाँ वर्षमा हिमालयन हाइड्रो एक्स्पो, २५ अर्ब रुपियाँभन्दा बढीको कारोबार हुने अपेक्षा

Advertisement

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी नयाँ वर्षमा आयोजना गर्ने भएको छ । इप्पानले हरेक दुई–दुई वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो आगामी वैशाख १२ देखि १४ सम्म हुन लागेको हो ।

एक्स्पो आयोजनाका लागि इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र तयार गरेर १० हजार मेगावाट विद्युत भारतमा र ५ हजार मेगावाट बंगलादेशमा र १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक रुपमा खपत गर्ने योजना बनाएको छ ।

Advertisement

नेपाल–भारतबीच नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता हालसालै मात्र भएको छ । यस्तो अवस्थामा जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । 

इप्पानले आयोजना गर्ने एक्स्पोमा सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत एक्स्पोमा सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको कार्कीको भनाइ छ ।

एक्स्पोमा जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने मेसिनरी औजारहरु, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सिमेन्ट, डन्डीलगायतका सामग्रीको प्रदर्शनी हुनेछ । यस सँगै जलविद्युत, सोलार, हाइड्रोजनलगायतका विषयमा सेमिनार तथा छलफलसमेत आयोजना गरिने इप्पानले जनाएको छ ।

एक्स्पोमा ऊर्जा क्षेत्रका इनोभेटिभ आइडियाहरुका बीचमा प्रतिस्पर्धा गराउनुका साथै विभिन्न विद्युत आयोजनाको वारेमा जानकारी दिन डेमो प्रस्तुत गरिने छन् । एक्स्पोमा २०० भन्दा बढी स्टल रहने र करीब २५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा इप्पानले गरेको छ ।

Advertisement

Advertisement