एफवानसफ्टद्धारा कर छली गरेको पुष्टि, छलीको १७ करोड कर दाखिला

Advertisement

काठमाडौं । एफ वान सफ्ट इन्टरनेश्नल प्राइभेट लिमिटेडले कर छली गरेको स्वीकार गरेको छ । आन्तरिक राजश्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयले निर्धारण गरेको थप कर कम्पनीले दाखिला गरेको हो ।

कम्पनीले छली गरेको करिब १७ करोड कर दाखिला गरेको विभाग स्रोतले जानकारी दियो । कम्पनीको आर्थिक वर्ष २०७५–७६ को कारोबारमा कर छली भेटिएपछि ठूला करदाता कार्यालयले करिब १७ करोड पुनः कर निर्धारण गरेको थियो।  

Advertisement

कार्यालयले निर्धारण गरेको कर छलीको बिगो चित्त नबुझेमा प्रशासकीय पुनरावलोकनमा जाने सुविधा कम्पनीलाई हुन्छ । तर एफवान सफ्टले कर छलीलाई सहज स्वीकार गर्दै जरिवानासहितको छली गरेको राजश्व तिरेको हो ।

प्रत्येक वर्ष आन्तरिक राजश्व विभागले आयकर र भ्याट (मूल्य अभिवृद्धि कर)को फाइल छनोट गरी कर परीक्षण गर्ने गर्छ । गत वर्ष विभागले १३३ वटा कम्पनीको फाइल छनोट गरी ठूला करदाता कार्यालय पठाएको थियो जसमध्येबाट ३५ वटा फाइल छनोट गरी कर परीक्षण गरिएको थियो । सो परीक्षणमा एफ वान सफ्टको फाइलमा पनि कैफियत भेटिएपछि अनुसन्धान गरेर पुनः कर निर्धारण गरिएको विभाग स्रोतको भनाई छ । 

ठूला करदाता कार्यालयले गरेको कर परीक्षणमा कम्पनीले मागेको खातापाता देखाउन आनाकानी गरेको थियो । कर अधिकृतलाई हैरानी पार्ने किसिमले एफवान सफ्टले थोरै–थोरै गरी विवरण पठाएको स्मरण गर्दै उनले कर परीक्षण रोक्न एक मिडियाका सञ्चालकमार्फत अनावश्यक दबाब दिने काम समेत गरेको बताए । यो कम्पनीमा कान्तिपुर मिडियाका सञ्चालकहरुको समेत लगानी रहेको छ । 

एफवान सफ्टको विभिन्न भगिनी कम्पनीहरु छन् जसमध्ये ई–सेवामा डेढ करोड रुपियाँ कर छली भेटिएको थियो । एफवान सफ्टले ब्राण्डिङ शीर्षकमा पनि ठूलो रकम विनियोजन गरे पनि त्यो रकम अपचलन परेको देखिएको भन्दै विभाग स्रोतले ठूलो रकम कम्पनीले खर्चमा देखाए पनि कुन पक्षहरुलाई भुक्तानी गरेको हो ? सो कुरा भने खुलाउन नसकेको बतायो । प्रचारप्रसारमा हुने खर्च स्पष्टरुपमा खुलाउनुपर्ने कानुनी व्यवस्था छ । 

भुक्तानी सेवा तथा प्रविधि क्षेत्रमा एकाधिकार जस्तै व्यापार गर्दै आएको एफवान सफ्टले सन् २०२२ को आम्दानीबाट मात्रै १३५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीमा ३५ प्रतिशत विश्वास ढकाल एक्लैको शेयर रहे पनि सञ्चालकहरुबीच भने लामो समयदेखि विवाद कायम रहेको छ । 

Advertisement

Advertisement