निर्माण श्रमिक कल्याणकारी कोषको शुभारम्भ

Advertisement

काठमाडौं । निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई विपद्का बेलामा सहयोग गर्ने लक्ष्यका साथ ‘निर्माण श्रमिक कल्याणकारी कोष’ को शुभारम्भ भएको छ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको २६औँ स्थापना दिवसका अवसरमा निर्माण क्षेत्रमा कार्यरत श्रमिकको सहयोगका लागि कोषको शुभारम्भ गरिएको हो ।

कोषको शुभारम्भ गरिएसँगै दुर्घटनामा परेका तथा अस्पतालमा भर्ना भएका श्रमिकले अब कोषमार्फत सहयोग पाउने छन् । सङ्घका केन्द्रीय अध्यक्ष प्रदीप आचार्यले बिरामीको प्रकृति हेरेर कोषमार्फत श्रमिकलाई सहयोग गरिने बताए ।  उनले सामान्य दुर्घटनामा परेका बिरामीलाई रु पाँचदेखि १० हजारसम्म, दुर्घटनामा अङ्गभङ्ग भएका बिरामीलाई रु १० देखि २५ हजारसम्म, श्रमिकको मृत्यु भएमा परिवारलाई किरिया खर्चस्वरुप रु २५ हजारसम्म उपलब्ध गराइने पनि जानकारी दिए । 

Advertisement

कोषमा आबद्ध हुनका लागि प्रत्येक श्रमिकले सुरुमा दर्तास्वरुप रु तीन सय तिनुपर्ने र सङ्घको सदस्यता नवीकरण गरेको हुनुपर्नेछ । देशभर ३४ हजार पाँच सय श्रमिक आबद्ध रहेको उक्त सङ्घमा आगामी वर्ष १० हजार श्रमिकलाई उक्त कोषमा आबद्ध गराउने लक्ष्य राखिएको अध्यक्ष आचार्यले बताए ।

कोषमा हाल रु पाँच लाख जम्मा गरिसकिएको छ भने बाँकी रु दुई लाख २६औँ स्थापना दिवसका अवसरमा सङ्कलन गरिएको छ । आगामी वर्ष कोषको रकम रु १५ लाख पुर्याउने लक्ष्य सङ्घले लिएको छ । 

कल्याणकारी कोषको शुभारम्भ गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले देश निर्माणको मेरुदण्ड निर्माण क्षेत्र भएकाले यो क्षेत्रलाई सरकारले विशेष सहयोग गर्नुपर्ने बताए । श्रमिकको सम्मान गर्न सकेमात्र देशको विकास हुने उनको भनाइ थियो ।  

ठूलाठूला महल, सडक, कलकारखाना, विद्युत्गृहलगायत बहुराष्ट्रिय आयोजनामा काम गर्ने श्रमिकको अवस्था सुधार्न राज्य लाग्नुपर्ने उनको धारणा थियो । 

Advertisement