महालेखापरीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखद : राष्ट्रपति पौडेल

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखद पक्ष भएको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आईतवार सम्बोधन गर्दै उनले हरेक वर्ष महालेखापरीक्षकको प्रतिवेदनमा किटानका साथ सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोगसम्बन्धी विषयहरु प्रकाशित भएको भन्दै यस खालका विचलनलाई समयमा नै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए । 

Advertisement

राष्ट्रपति पौडेलले आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारका उपर अनुसन्धान र छानबिन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र नभइ ठूला प्रकृतिका कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भए पनि उनीहरुलाई कानुनको दायरामा ल्याउन पछि पर्नुहुन्न भन्ने आम नागरिकको मत ध्यानमा राख्न सुझाव दिए । 

अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह, पूर्वाग्रहरहित भएको सन्देश प्रवाह हुनुपर्ने उनको भनाइ थियो । 

मुलुकको नीति, कानून निर्माण विकास व्यवस्थापन र नागरिकहरुको आधारभुत सेवा प्रवाहमा संलग्न अधिकारप्राप्त अधिकारीहरुलाई प्रचलित नीति र कानुनबमोजिम निर्धक्कसाथ विवेकशील निर्णय र कार्यसम्पादन गर्न अनुकूल वातावरणको सिर्जना गर्नुपर्ने चुनौती आयोग तथा सम्बन्धित निकायका सामु देखापरेको उल्लेख गरे । 

राष्ट्रपति पौडेलले भ्रष्टाचार नियन्त्रणका हकमा संस्थागत सुदृढीकरणका लागि संवैधानिक आयोगले राज्यका अन्य अंगहरुलाई बेलाबखत परामर्श तथा सुझाव दिइरहनुपर्ने पनि बताए । 

 

Advertisement