अष्ट्रेलियाकी पर्वतारोही एली पेपर बिना अक्सिजन अन्नपूर्ण-१ हिमाल आरोहण गर्दै

Advertisement

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाईड एली पेपरले आगामी आरोहण सिजनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये एउटा अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छिन् ।  उनले २०२६ भित्र १४ वटा हिमालहरु आरोहण गर्ने बताइन् ।   

१०औं अग्लो हिमाल अन्नपूर्ण (८,०९१ मिटर) को अक्सिजनको प्रयोग नगरी आरोहण गर्न उनी नेपाल आउने तयारीमा छिन् । अक्सिजनको प्रयोग नगरी विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालका चुचुराहरूमा पुग्ने आफ्नो सपना पूरा गर्न आगामी मार्च महिलाको पहिलो हप्ता टिमसहित काठमाडौं आउन लागेकी उनले कपोरेट नेपाललाई जानकारी दिइन् । उक्त हिमालको आरोहणको लागि हिमाल आरोहण कम्पनी सेभेन समिट ट्रेक्समार्फत आरोहण गर्न लागेकी हुन् । 

Advertisement

विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये दुई वटा हिमालको अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी उनले जानकारी दिइन् । 

सिड्नीकी पर्वतारोही पेपरले दुई वर्षभित्र अक्सिजन बिना नै विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छिन् ।  उनको लागि हिमाल आरोहण गर्नु नयाँ कुरा होइन किनभने उनले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बनेकी थिइन् । 

उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गर्न २००७ मा तिब्बतको माउन्ट चोयु हिमालबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थालेकी हुन् । यससँगै ४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् । उनले भनिन, ‘मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा नै आफनो लक्ष्य हासिल गर्नेमा म विश्वस्त छु । मैले मेरो सम्पूर्ण जीवन यसका लागि शारीरिक रूपमा मात्र होइन, मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा तालिम दिएको छु । यही सबै कुराले मलाई यो गर्न प्रेरित गरेको छ ।’

हालसम्म छ जनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गरेका छन् । त्यसमा पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरुको मुख्य चुचुरोमा पुगेका भने दुई जना मात्र हुन्, उनीहरुलाई त्यसको लागि १६ वर्ष लागेको उनले जानकारी दिइन् । 

विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धौलागिरी, मनास्लु, नाङ्गा पर्वत, अन्नपूर्ण–१, गाशरब्रम–१, ब्रोडपिक, गाशरब्रम–२, शिशापाङ्मा हुन् । 
 

Advertisement