कर्जा दुरुपयोगका नाममा धरपकडले बैंकका कर्मचारी पलायन हुने अवस्था आउनसक्ने चेतावनी

Advertisement

काठमाडौं । बैंक वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षहरुको संस्था सिविफिनले कर्जा दुरुपयोगका नाममा प्रभु बैंकका कर्मचारी र बैंकका पूर्वसीईओहरुलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । 

सिविफिनले धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तर्राष्ट्रिय बैकिङ अभ्यासको वारेमा गहिरो अध्ययन र जानकारी नलिई कुनै पेशाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिइ हिरासतमा राखिएको भन्दै यस कार्यप्रति आफ्नो गम्भीर आपत्ति रहेको जनाएको छ । 

Advertisement

बैंकका गतिविधिहरु नियामक निकायको सुक्ष्म निगरानीमा रहेको विषय विदितै छ भन्दै सिविफिनले भनेको छ, ‘सो संस्थाले बैंकभित्र कुनै पनि बदमासी भए वा कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरुलाई प्रचलित कानून अनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको पनि छ । व्यावसायिक÷व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने÷उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य जगजाहेर नै छ ।’ 

सिविफिन आफ्नो विज्ञप्तिमा थप लेख्छ, ‘तर, धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेशाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयवित बनेको छ भने समग्र लगानीकर्ता समेत सोचमग्न बनेका छन् । यस्ता कार्यले देशभित्र आफ्नो भविष्य नदेखेर रोजगारी वा शिक्षाका नाममा ठूलो जनशक्ति र धनराशी पलायन भइरहेको सन्दर्भमा आफ्नो मातृभूमिप्रति समर्पित हुँदै आफ्नो अनुभव, क्षमता र दक्षताको प्रयोग गर्दै देशको बैंकिङ क्षेत्रको स्तरोन्नतिसहित समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण टेवा पुर्याइरहेका बैंकिङ क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले भोलि राष्ट्रकै भविष्यमा पर्ने असरप्रति गम्भीर बनिदिन सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछौं ।’

नेपालको बैंकिङ क्षेत्र एसियाली देशहरुकै तुलनामा सबल र सक्षम रहेको सो संस्थाको दावी छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरु र नियामक निकायले प्रकाशित गरेका वित्तीय विवरणहरुले नै प्रमाणित गरेका छन् भन्दै सिविफिनले यसो हुनुमा यस क्षेत्रमा कार्यरत काबिल कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेको बताएको छ । 

बैंकिङ क्षेत्रमा कर्जा प्रदान गर्नु, कर्जाको अवस्था हेरी संभावित जोखिम व्यवस्थापन गर्नु र बिग्रेको कर्जा असुलउपर गर्ने कार्य गर्नु सामान्य बैंकिङ प्रक्रिया रहेको हुँदा असल नियतबाट गरिएका कार्यलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाइनु न्यायसंगत नहुने उसको भनाई छ ।

यस्ता कार्यले बैंकिङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र होइन, बिना धितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा अग्रसर हुने राष्ट्रको योजनामा समेत ठेस पुग्ने र यस्तो अभ्यासको वकालत गर्दै आएका अन्तर्राष्ट्रिय समुदायकोवीचमा समेत राष्ट्रको प्रतिष्ठा गिर्नेप्रति संवेदनशील हुन आग्रह पनि गरिएको छ । 
कर्जा प्रवाह जस्तो नियमितरुपमा गरिने कार्यको अन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई धरपकड गरी हिरासतमा राख्ने जस्ता कार्य नगर्न सिविफिनले आग्रह गरेको छ । तत्कालिन सेन्चुरी बैंकले प्रवाह गरेको कर्जाको विषयलाई लिएर हालै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालिन सेन्चुरी बैंकका सीईओहरु तुल्सीराम गौतम, मनोज न्यौपानेलगायतलाई पक्राउ गरेको थियो ।  
 

Advertisement