भारततर्फको सीमामा राष्ट्रिय झण्डा गाड्ने अभियान सुरु

Advertisement

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका भूभागमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो ।

कोशी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिक रुपमा शुरुवात गरिएको अभियानलाई नाकाको सबै क्षेत्रमा क्रमशः अघि बढाइने सुनसरी प्रशासनले जनाएको छ । नेपाली भूमि जो कोहीले परैबाट चिन्न सकुन् भन्ने उद्देश्यसाथ सीमामा राष्ट्रिय झण्डा राख्ने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । 

Advertisement

उनले भारतसँग सीमा जोडिएको सुनसरी तर्फको ६२ किलोमिटर नाका क्षेत्रका हरेक प्वाइन्ट, बीओपी सहितका सुरक्षा निकायका पोष्ट र खुला रुपमा रहेका हरेक नाकामा राष्ट्रिय झण्डा राखिने बताए । आचार्यले सीमा क्षेत्रको भूमिमा राष्ट्रिय झण्डा फहराउँदा सीमावासी नेपालीमा राष्ट्रियताको भावना थप उच्च हुने विश्वास समेत व्यक्त गरे । 

सीमावासी सादा पोशाकका पहरेदार भएकाले सीमा सुरक्षा र संरक्षणका सवालमा समेत राष्ट्रिय झण्डा अभियान सार्थक हुने उनको विश्वास छ । आचार्यले भने, ‘सीमा क्षेत्रको अवस्थासँगै स्थानीयको समस्या र गुनासो बुझ्न पैदल यात्रामा निस्किएका थियौँ । सो क्रममा भारतसँगको खुला नाका क्षेत्रमा नेपाली भूभाग कहाँसम्म पर्छ भनेर ठम्याउन जो कोहीले नसक्ने अवस्था देखियो । राष्ट्र र राष्ट्रियाताको हितमा आवश्यकता समेत महशुस भयो । सोही बमोजिम राष्ट्रिय झण्डा फहराउने अभियानमा जुटेका हौँ ।’

नाकामा राष्ट्रिय झण्डा अभियान अघि बढाएको सुनसरी प्रशासनले दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपाली भूमितर्फ बनाएका केही सुरक्षा पोष्ट समेट हटाइएको जनाएको छ । नाकाका समस्या र स्थानीयका गुनासोबारे दुई देशीय सुरक्षा बैठकमा कुरा उठाउने समेत जनाएको छ । 

नाका क्षेत्रमा भारतीय पक्षले यस अघिबाट नै आफ्नो क्षेत्र लक्षित झकिझकाउ पार्ने र आफ्नो देशको उपस्थिति दर्शाउने क्रियाकलाप गर्दै आएको छ । नेपाल तर्फको सुनसरीको भूभागमा भने राष्ट्रिय झण्डा अभियान सुनसरी प्रशासनको पहिलो कदम हो । जसलाई स्थानीयवासीले प्रसासनको सही निर्णयका रुपमा लिएका छन् ।

Advertisement

Advertisement