परराष्ट्रमन्त्रीलाई बधाई नदिई अर्थमन्त्री पुनलाई बधाई दिन मन्त्रालय पुगे भारतीय राजदूत

Advertisement

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री बर्षमान पुनलाई उनकै कार्यालयमा पुगेर बधाई दिएका छन् । 

राजदूतहरुले नयाँ सरकारलाई बधाई दिँदा परराष्ट्रमन्त्रीमार्फत दिनुपर्नेमा नदिई श्रीवास्तवले अर्थमन्त्रीलाई भेटेर बधाई दिनु अर्थपूर्ण देखिन्छ । यद्यपि अहिले नयाँ सरकार बनेको नभई गठवन्धनमा मात्रै परिवर्तन हुँदा भारतीय राजदूतले बधाई दिनु अझ अर्थपूर्ण देखिन्छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनपरस्थ नेता मानिन्छन् । 

Advertisement

भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरण परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ । श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने बताएका थिए । 
 
उनले भने, ‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो । यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहालसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए । श्रीवास्तवले नेपाल–भारतबी सम्बन्ध मौलिक रहेको चर्चा गरे । 

उनले सम्बन्ध विगतमा जस्तै असल रहने प्रतिबद्धता जनाउँदै आपसी विश्वासका साथ सहयोग र लगानीका निरन्तर काम गर्ने पनि बताएको अर्थ मन्त्रालयले जनाएको छ । 

उता चिनियाँ राजदूत छन सोङले भने परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर नयाँ गठवन्धनका लागि बधाई दिएका छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

undefined

Advertisement