यो सरकार लामो समय जान्छ भन्ने विश्वास कसैलाई पनि छैन्ः गगन थापा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरुलाई सबैलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका छन् । 

बिहीवार संसद बैठकपछि उनले आफ्नो अनुकुलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका हुन् । दाहालले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गरेको भन्दै थापाले प्रधानमन्त्रीले जति ढाकछोप गरेपनि बेइमानीको ढाकछोप नहुने बताए । 

Advertisement

यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको थापाको भनाई छ । उनले भने, ‘निर्वाचन अगाडी गठबन्धन गर्नु हुँदैन थियो तर ग¥यौँ । गठबन्धन गरिसके पछाडी यो गठबन्धन भित्र आवद्ध भएका प्रत्येक दलका सांसदहरु चाहे पुष्पकमल दाहाल हुनुहोस् । चाहे म हुँ । हामीले एक, अर्काको निर्वाचन चिन्हमा अर्को मतदाताको मत प्राप्त गरेर आएका छौँ । त्यसैले मलाई इच्छा लाग्यो, मेरो सहजता, मेरो अनुकुलताका लागि भनेर काँध फेर्ने सुविधा हामीसँग पनि थिएन । उहाँसँग पनि थिएन । तर यि सबै कुराहरुको वेवास्ता गरेर जसरी यो निर्णयमा उहाँ पुग्नुभयो र जे जति कपोकल्पित कुराहरु प्रस्तुत गरेर यसलाई ढाकछोप गर्न खोजिराख्नु भएको छ, जति ढाकछोप गरेपनि बेइमानी ढाकछोप हुँदैन । उहाँले शीर छोप्न खोज्नुभयो भने पैताला देखिन्छ । पैताला छोप्न खोज्नुभयो भने शीर देखिन्छ ।’ 

थापाले थपे, ‘प्रतिपक्ष दलमा बसिराख्नुभएको केपी शर्मा ओली स्वयम् आफुलाई पनि पुष्पकमल दाहालले अगाडी उभिएर बोलिराख्दाखेरी कुनैपनि बेला यसले धोका दिन सक्छ भन्ने उहाँको मनमा खेलिरहेको छ भन्ने मलाई महशुस भयो त्यहाँको हाउभाउ हेर्दाखेरी । यो सरकार लामो जान्छ भन्नेकुरा सरकारमा बसेका कसैलाई पनि भरोसा छैन । अनुसन्धान भइरहेको बेलामा अनुसन्धान प्रभावित हुनसक्ने हुँदा अनुसन्धान भइरहेका कुनैपनि व्यक्ति मन्त्रीको रुपमा रहनु हुँदैन । जबसम्म ति मन्त्रीका रुपमा रहन्छन् तबसम्म संसद चल्दैन भनेर यो संसद अवरुद्ध भएको हो । आज संसद खुल्यो । त्यो प्रश्न यो संसदभित्र उठेको हो । आसन फेरियो, भाषण फेरियो तर त्यो प्रश्न यहाँ जस्ताको तस्तै छ । त्यो प्रश्नको जवाफ नखोजिकन संसद यत्तिकै अगाडी बढ्न सक्ला र ?’

Advertisement