सिपमूलक तालिम सञ्चालन गर्ने सहमति पत्रमा एकै पटक २३ वटा कलेजसँग हस्ताक्षर

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले आज सरकारी र निजी गरेर २३ वटा क्याम्पसहरुसँग सिपमूलक तालिम सञ्चालन स्थलका लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ । विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  

महानगरपालिकाले चालु आर्थिक बर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा ल्याएको छ । यीमध्ये ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम एउटा हो । यो कार्यक्रममा रोजगारमूलक सिप विकास तालिम सञ्चालन हुन्छन् । यस्ता विविध विधाका तालिम सञ्चालन गर्न सम्झौता भएको हो । सामाजिक विकास विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गराइनेछ । १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आवद्ध गराउने कार्यक्रमको लक्ष्य हो । 

Advertisement

सम्झौताबमोजिम कलेजहरुले कक्षा कोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन् । प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ । यसका लागि कलेजहरुले महानगरपालिकामा लागत अनुमान पेश गर्नुपर्नेछ । 

तालिमको संयोजन र सहजीकरण महानगरपालिकाबाट खटाइएका तालिम संयोजकहरुले गर्नेछन् ।  

सम्झौता अवसरमा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘रोजगारीका लागि सिप विकास तालिम चाहिनेहरु लक्षित वर्ग भएकोले रोजगारी वा आयमूलक काममा आवद्धता यसको नतिजा हो । महानगरको योजनामा सामाजिक उत्तरदायित्व वहन गर्दै कलेजहरु सँगै हुनु सुखद कुरा हो ।’ सहकार्यबाट परिणाम प्राप्त गर्न सहज हुने बताउँदै उनले, कार्यक्रमको सुखद थालनी नतिजामा देखिनुपर्ने धारणा राखिन् ।  

सिपमूलक तालिम लिनका लागि अहिलेसम्म करिब १० हजार व्यक्तिको आवेदन प्राप्त भइसकेको छ । सूचना प्रविधिमा आधारित तालिममा धेरै व्यक्तिहरुको चासो छ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले कार्यक्रमका बारेमा प्रस्तुतिकरण गर्दै भने, ‘६९.७ प्रतिशत पुरुष र ३०.३ प्रतिशत महिला आवदेकमध्ये ४७.९ प्रतिशत बागमती प्रदेशबाट हुनुहुन्छ । यस्तै मधेश प्रदेशबाट १२.१, कोशी प्रदेशबाट १२ प्रतिशत, सुदुरपश्चिमबाट ८.५ प्रतिशत हुनुहुन्छ । उहाँहरुमध्ये पनि ८०.६ प्रतिशत बागमती प्रदेशमा बसोबास गरिरहनुभएको छ ।’

१२ कक्षा उत्तीर्ण शैक्षिक योग्यता भएका आवेदकको संख्या सबैभन्दा धेरै ४८.२ प्रतिशत छ । निरक्षर ३० प्रतिशत, एसईई वा एसएलसी उत्तीर्ण ९.८ प्रतिशत, स्नातकोत्तर ८.३ प्रतिशत छन् । २४.१ प्रतिशतले यसअघि नै तालिम लिनुभएको छ । ७५.९ प्रतिशतले कुनै तालिम लिएका छ्रैनन् ।  

तालिम लिनेमध्ये १ बर्षभन्दा धेरै तालिम गरिसक्नुभएका आवेदकको संख्या १५.५ प्रतिशत छ । १८.९ प्रतिशतले १ महिनाभन्दा कम अवधिको, १९.१ प्रतिशतले ३ महिनादेखि १ बर्षसम्मको, ९.५ प्रतिशतले ६ महिनादेखि १ बर्षसम्मको तालिम लिनुभएको झाले जानकारी दिए ।  

विभागका निमित्त प्रमुख कोइरालाका अनुसार महानगरपालिकामा बसोबास गरिरहेका (स्थायी, अस्थायी बसोबासी तथा करदाता समेत) व्यक्ति, फोहोर व्यवस्थापन हुँदै आएको ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा प्राथमिक लक्षित वर्ग हुनुहुन्छ । बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरु, विदेशवाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका) व्यक्तिलाई सबैलाई तालिमको अवसर प्रदान गरिनेछ । 

महानगरपालिकाभित्र १०५ वटा व्यवस्थापन र १२५ वटा प्राविधिक धारका क्याम्पसको नामावली प्राप्त भएको छ । कार्यक्रमका फोकल पर्सन शान्ता पहाडी भन्छिन्, ‘तालिम सञ्चालन गर्नु अघि हामीले उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरिसकेका छौँ । यसपछि उद्योग क्षेत्रमा चाहिने आवश्यक  जनशक्तिको पहिचानका लागि सरोकारवालासँग छलफल गर्नेछौँँ ।’ 

महानगरपालिकासँग शैक्षिक संघसंस्थाहरुले अनुसन्धानमूलक, ढाँचा निर्माणलगायत विविध क्षेत्रमा सहकार्यं हुन सक्छ । हामी यसका लागि उत्साहित छौँ । इञ्जिनियरिङ् अध्ययन संस्थान, थापाथलीको अनुसन्धान तथा विकास एकाइका प्रमुख प्रदिप अधिकारीले भने, ‘नविनतम सोचलाई सामाजिक रुपमा अभ्यस्त गराउन हामीजस्ता शैक्षिक संस्थाहरुले योगदान दिन सक्छौँ ।’

तालिमका विधाहरु 
१.     प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ् तथा सीसीटिभी क्यामरा जडान तथा मर्मत तालिम 
२.    सफ्टवेयर डिभलपमेन्ट तालिम 
३.    प्रोफेसनल इलेक्ट्रिसियन एण्ड प्लम्बिङ् तालिम 
४.    सिलाइ कटाइ तथा फेसन डिजाइनिङ् तालिम 
५.    कन्स्ट्रक्सन लेवर तथा मिस्त्री तालिम 
६.    व्युटी पार्लर तथा सैलुन तालिम 
७.    मोटरसाइकल रिपेयर मेन्टिनेन्स तालिम 
८.    लाइट भेहिकल मेन्टिनेन्स तालिम 
९.    कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ् तालिम
१०.    हस्तकला तथा मूर्तिकला तालिम 
११.    आकाशे पानी संकलन तथा रिजर्व वोरिङ् तालिम
१२.    सरसफाइ तथा माली तालिम
१३.    कौसी खेती (भर्टिकल फार्मिङ्) तालिम
१४.    हेभी इक्वीपमेन्ट अपरेटर (ब्लाक व्हो, लोडर, एक्साभेटर) तालिम 
१५.    फास्टफुड/चाइनिज र इन्डियन कुक तालिम 
१६.    बारिस्ता / बेकरी तालिम 
१७.    बार ट्रेण्डिङ्/वेटर/वेट्रिस तालिम
१८.    होम एप्लाइन्सेस मर्मत तालिम 
१९.    अनलाइन रोजगार तालिम 
२०.    सम्पदा निर्माण तथा मर्मत तालिम 
२१.    प्रोसेसनल अकान्टिङ् तालिम 
२२.    रिसेप्सनिष्ट तथा क्यासियर तालिम 
२३.    मार्केटिङ् तथा डिजिटल मार्केटिङ् तालिम 
२४.    ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ् 
२५.    एल्मुनियम, युपीभीसी, फेब्रिकेसन तालिम 
२६.    टुटिस्ट गाइड तालिम 
२७.    सेक्युरिटी गार्ड तालिम
२८.    स्पा तथा थेरापी तालिम 
२९.    लघु उद्यम विकास सहजकर्ता तालिम 
३०.    जुत्ता बनाउने तालिम 
३१.    सहकारी व्यवस्थापक तालिम 
३२.    गरगहना बनाउने तालिम 
३३.    विभिन्न खेलकुदका लागि 
३४.    साइबर सेक्युरिटी
३५.    अन्य तालिमका लागि 

Advertisement