यूके, दुवई, माल्दिभ्स पठाइदिन्छु भन्दै झण्डै ४० लाख ठगी गर्नेहरु पक्राउ

Advertisement

काठमाडौं । प्रहरीले यूके ९बेलायत०, दुवई, माल्दिप्स पठाइदिन्छु भन्दै लाखौं रुपियाँ ठगी गर्नेहरुलाई पक्राउ गरेको छ । झण्डै ४० लाख ठगीको आरोप लागेका उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । 

प्रहरीले युके पठाइदिन्छु भन्दै २९ लाख ८८ हजार रूपियाँ ठगी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२५ भैसेपाटी बस्ने ३४ वर्षीया लक्ष्मी लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

लिम्बुले ४ जनालाई वैदेशिक रोजगारीका लागि युके पठाई मासिक ४ लाख २० हजार रूपियाँ तलबमा केयर गिभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको आरोप छ । उनलाई ललितपुर भैसेपाटीबाट पक्राउ गरिएको हो । 

त्यस्तै, दुबई पठाइदिन्छु भन्दै पाँच लाख ७५ हजार रूपियाँ ठगी गरेको अभियोगमा नवलपरासी कावासोती नगरपालिका– १७ घर भई काठमाडौं टोखा नगरपालिका– ६ ग्राण्डी बस्ने ४४ वर्षीया सुशिला राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले २ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डमा मासिक १ लाख रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । उनलाई ग्राण्डीबाट पक्राउ गरिएको हो । 

त्यसैगरी, माल्दिभ्स पठाइदिन्छु भन्दै तीन लाख ५० हजार रूपियाँ ठगी गरेको अभियोगमा म्याग्दी बेनी नगरपालिका– ४ घर भई काठमाडौं टोखा नगरपालिका– ६ बस्ने ३८ वर्षीय सुनिल शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शाहीले १ जनालाई वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाई प्रतिष्ठित कम्पनीमा ड्राइभिङमा मासिक ७० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको प्रहरीको भनाई छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । 

सबैलाई थप अनुसन्धान तथा कारवाहीको लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको जनाइएको छ ।

Advertisement