गृहमन्त्री लामिछानेलाई बोल्न रोक्न कांग्रेसद्धारा संसद अवरोध, माओवादीको नियमापत्ति

Advertisement

काठमाडौं । सहकारी प्रहरीमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आएको नेपाली कांग्रेसले शुक्रबार प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । 

सभामुखले निजामती कर्मचारीसम्वन्धी विधेयक पेश गर्न गृहमन्त्रीलाई समय दिएपछि कांग्रेसका साँसदहरुले रोष्टम घेटेका थिए । त्यसप्रति सत्तारुढ दल माओवादी केन्द्रले नियमापत्ति गरेको थियो ।

Advertisement

मन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ माग गरेको थियो । तर, कांग्रेस सांसदहरू सिटबाट उठेर अवरोध गरेका बेला माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । संसदीय क्यालेन्डरसमेत बनेको र त्यसअनुसार अगाडि बढ्नुपर्नेमा त्यसो हुन नदिनु प्रतिनिधिसभा नियमावली विपरीत हुने उनको तर्क थियो ।

सभामुखले समय दिएपछि सांसद राजेन्द्र केसीले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने अनुसन्धानको घेरामा रहेको भन्दै आफूहरू यसबारेमा स्पष्ट हुन चाहेको बताए ।

उनले भने, ‘गृहमन्त्री रवि लामिछानेजी सहकारी पीडक हुनुहुन्छ । पीडितहरू हजारौं संख्यामा सडकमा रोइरहनुभएको छ । यस्तो अवस्थामा जबसम्म प्रधानमन्त्रीले हाउसमा आम नेपाली जनतालाई आश्वस्त पार्न सक्नुहुन्न । तबसम्म हाउस चल्न सक्दैन ।’

लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीका पीडितहरूले उजुरी दिएका छन् । यस सम्बन्धमा जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखले रुलिङ गर्नुपर्ने सांसद केसीले माग गरे ।

विवादपछि सभामुख घिमिरेले सदनमै दोहोरो छलफल गरेर विषय नटुंगिने भन्दै प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । 

Advertisement