फागुनमा घरजग्गा कारोबारबाट एक अर्ब २८ करोड राजस्व संकलन

Advertisement

काठमाडौं । सरकारले फागुन महिनामा घरजग्गा कारोबारमार्फत एक अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपियाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही महिनामा यस्तो राजस्व एक अर्ब १९ करोड ९६ लाख ७३ हजार संकलन भएको थियो । 

माघ महिनाको तुलनामा घरजग्गाको कारोबारमा सुधार आएसँगै राजस्व संकलन सामान्य वृद्धि भएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार फागुन महिनामा ५० हजार ९९८ वटा लिखत पारित भएका छन् । जुन अघिल्लो महिनामा ५० हजार ९२१ वटा भएका थिए । 

Advertisement

माघ महिनामा पाँच हजार ४८० वटा नामसारी भएकामा फागुन महिनामा पाँच हजार ६९९ वटा नामसारी भएको विभागको तथ्यांक छ ।

त्यस्तैगरी गत महिना २९ वटा अपार्टमेन्टको लिखत पारित भएको छ, जुन माघमा २५ वटा अपार्टमेन्टको लिखत पारित भएको थियो । 

विभागका अनुसार चालू आवको साउन महिनामा ३९ हजार २६३ लिखत पारित र तीन हजार १५९ नामसारी भएको छ । यस्तै भदौमा महिनामा लिखत पारित ३५ हजार ६८६ र नामसारी दुई हजार ८४३ वटा भएकोमा असोज महिनामा ३९ हजार ८८१ लिखत पारित र तीन हजार २३७ वटा नामसारी भएको थियो भने कात्तिकमा २६ हजार, मंसिरमा ४१ हजार ८५१ र पुस महिनामा ४५ हजार २७७ संख्यामा घरजग्गाको लिखत पारित भएको थियो । 

कोरोना महामारीपछि लामो समयसम्म मन्दीले सुस्ताएको घरजग्गाको कारोबार पछिल्लो समय सुधारोन्मुख हुँदै गएको कारोबार तथ्यांकले देखाएको छ ।

Advertisement

Advertisement