बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप ६२ खर्ब माथि, बढ्न सकेन कर्जा प्रवाह

Advertisement

काठमाडौं ।  गत बर्ष तरलता अभावको सामना गरेका बैंक तथा वित्तीय संस्थाहरुमा अहिले भने निक्षेप थुप्रिदै गएको छ । शनिबारसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थामा राखिएको बचत तथा निक्षेप ६२ खर्ब रुपियाँ माथि पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।  बैंकहरुमा गत शुक्रबार ६२ खर्ब १ करोड रुपियाँ र शनिबार ६२ खर्ब २ अर्ब रुपियाँ निक्षेप कायम भएको छ ।

Advertisement

बैंक तथा वित्तीय संस्थाहरुमा  राखिएको निक्षेप पहिलो पटक ६२ खर्ब रुपियाँ माथि निक्षेप पुगेको हो । यो नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) भन्दा पनि ८ खर्ब २० अर्ब रुपियाँले बढी हो । चालु मुल्यमा अहिले नेपालको जीडीपी ५३ खर्ब ८१ अर्ब रुपियाँ रहेको छ । 

गत असार मसान्ससम्म बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब ७१ अर्ब रुपियाँ निक्षेप थियो, त्यस अनुसार चालु आवको साढे ८ महिनामा मात्रै बैंक तथा वित्तीय संस्थामा ४ खर्ब ३० अर्ब रुपियाँ निक्षेप थपिएको देखिन्छ ।

शनिबारसम्म बाणिज्य बैंकहरुमा मात्रै ५४ खर्ब ८७ अर्ब रुपियाँ निक्षेप कायम भएको छ । अन्य बैंक तथा वित्तीय संस्थामा भने ७ खर्ब १३ अर्ब रुपियाँ निक्षेप कायम भएको तथ्यांकमा उल्लेख छ । यसरी उच्च मात्रामा निक्षेप बढ्दा बैंकहरुबाट कर्जा प्रवाह भने बढ्न सकेको छैन । 

शनिबारसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ५० खर्ब ८४ अर्ब रुपियाँमा सिमित छ । त्यसमा बाणिज्य बैंकले मात्रै ४४ खर्ब ९८ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका छन् । अन्य बैंक तथा वित्तिय संस्थाले भने ५ खर्ब ८६ अर्ब रुपियाँ कर्जा प्रवाह गरेको देखिन्छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय सस्थाको कर्जा प्रवाह ४८ खर्ब ७८ अर्ब रुपियाँ थियो, त्योअनुसार चालु आवको साढे ८ महिनामा २ खर्ब ६६ अर्ब रुपियाँ मात्रै कर्जा थपिएको देखिन्छ । 

बिशेषगरी पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण कर्जा प्रवाह बढ्न सकेको छैन । ब्याजदर निरन्तर घटाउँदा समेत कर्जाको माग नबढेको बैंकरहरु बताउँछन् । कर्जाको माग नबढ्दा अहिले कर्जा निक्षेप अनुपात पनि ८० प्रतिशत भन्दा कम छ । 

बैंकहरुले यस्तो अनुपात ९० प्रतिशतसम्म पुग्ने गरी कर्जा प्रवाह गर्न पाउछन् । तर, अहिले कर्जा निक्षेप अनुपात अर्थात् सिडी रेसियो ७९.६१ प्रतिशतमा सीमित छ । बैंकहरुमा ६ खर्ब ४४ अर्ब २८ करोड रुपैयाँ ऋण लगानीयोग्य पूँजी छ । तर, कर्जा माग नहुदाँ त्यो पूँजी परिचालन हुन सकेको छैन ।

Advertisement