दोस्रो त्रैमासको अर्थतन्त्रः बैंक तथा बीमा क्षेत्रमा ९.१% को आर्थिक वृद्धि, कुन क्षेत्रको कति ?

Advertisement

काठमाडौं । चालु आर्थिक २०८०/८१ को दोस्रो त्रैमासमा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) ४ प्रतिशतले बढेको छ । राष्ट्रिय तथ्यांकले कार्यालयले दोस्रो त्रैमासको जीडीपी सम्बन्धी तथ्यांक सार्वजनिक गर्दैै यस्तो बताएको हो ।

गत आवको दोस्रो त्रैमासको तुलनामा आर्थिक बृद्धिदर ४ प्रतिशत भएको अनुमान तथ्यांक कार्यालयले गरेको हो । गत आवको दोस्रो त्रैमासमा आर्थिक बृद्धिदर ०.८ प्रतिशतले ऋणात्मक थियो । स्थिर मूल्यका आधारमा यस्तो गणना गरिएको हो ।

Advertisement

तथ्यांकले कार्यालयले बिभिन्न १८ आर्थिक क्षेत्रमा हुने गतिविधि आधारमा आर्थिक बृद्धिदर गणना गर्छ । समिक्षा अवधिमा सबैभन्दा धेरै आर्थिक बृद्धिदर सेवा क्षेत्र (आवास तथा भोजन) मा देखिएको छ । उक्त क्षेत्रमा २९.३ प्रतिशतको आर्थिक बृद्धिदर भएको कार्यालयको अनुमान छ । बढ्दो पर्यटक आगमनका कारण सेवा क्षेत्रमा सकरात्मक प्रभाव परेको कार्यालयको भनाइ छ ।

गत आवको दोस्रो त्रैमासमा यस क्षेत्रको आर्थिक बृद्धिदर ०.४ प्रतिशत मात्रै थियो । बिशेषगरि कोरोना महामारीकै असरले नेपाली सेवा क्षेत्र प्रभावित भएको थियो । तर, अहिले पर्यटक आवागमन बढ्दै गएपछि सेवा क्षेत्रले लाभ लिएको विश्व बैंकले मंगलबारमात्रै सार्वजनिक गरेको एक प्रतिवेदनमा पनि उल्लेख छ ।

धेरै आर्थिक बृद्धिदर गर्ने मामिलामा ऊर्जा क्षेत्र दोस्रो स्थानमा छ, समिक्षा अवधिमा ऊर्जा क्षेत्रको आर्थिक बृद्धिदर १७.१ प्रतिशत छ । विद्युत्को उत्पादन बढ्दै गएपछि यस क्षेत्रको आर्थिक बृद्धिदर बढेको बताइएको छ । 

तेस्रो स्थानमा भने यातायात तथा भण्डारण रहेको देखिन्छ । उक्त क्षेत्रको आर्थिक बृद्धिदर १४.३ प्रतिशत भएको अनुमान कार्यालयले गरेको छ ।

यसैगरी खानी तथा उत्खनन् क्षेत्रको आर्थिक बृद्धिदर ९।४ प्रतिशत भएको अनुमान कार्यालयले गरेको छ । निर्माण क्षेत्रमा उत्खनन् आएको २.२ प्रतिशतको वृद्धिले खानी क्षेत्रको बृद्धिमा समेत सहयोग पुगेको बताइएको छ ।

चौथो स्थानमा बैंक तथा बीमा क्षेत्र रहेका छन्, समीक्षा अवधिमा बैंक तथा बीमा क्षेत्रको आर्थिक बृद्धिदर भने ९.१ प्रतिशत देखिएको छ । पछिल्लो समय बैंक तथा बीमा क्षेत्रसँग सम्बन्धीत गतिविधि बढ्दै गएको बताइएको छ ।  निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको कार्यालयको भनाइ छ । 

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको आर्थिक वृद्धिदर भने ३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । धान लगायत अन्नबाली तथा पशुजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको बताइएको छ । 

अर्कोतर्फ थोक तथा खुद्रा व्यापार क्षेत्र भने यो त्रैमासिकमा सामान्य वृद्धि (०.५ प्रतिशत) मा सिमित भएको छ। व्यापारजन्य वस्तुहरूको आयातमा भएको गिरावटले गर्दा व्यापार क्षेत्रको वृद्धि सन्तोषजनक हुन नसकेको कार्यालयले बताएको छ । 

यो त्रैमासिकमा  औद्योगिक वस्तु उत्पादन क्षेत्रको मात्र मूल्य अभिवृद्धि वृद्धिदर झिनो अङ्कले ऋणात्मक (–०.४ प्रतिशत) भएको छ । औद्योगिक वस्तुको उत्पादनमा आएको कमीका कारण यो क्षेत्रको वृद्धि ऋणात्मक रहन गएको प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । 

यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा धान लगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कूल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक रहेको कार्यालयको भनाइ छ । यसका अतिरिक्त व्यापार क्षेत्रमा भएको झिनो वृद्धि तथा उद्योग बाहेकका अन्य क्षेत्रहरूको धनात्मक वृद्धिले गर्दा समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले बताए । 

 

undefined

undefined


 

Advertisement