गृहमन्त्रीको कोर टिम नै सहकारी ठगीमा संलग्न रहेको कांग्रेसको आरोप

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीको कोर टिम नै सहकारीको रकम ठगीमा संलग्न रहेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभामा उनले स्वतन्त्र पार्टीका सभापति लामिछाने मात्रै नभएर सहमहामन्त्री विपिन आचार्य समेत सहकारीको रकम अपचलनमा मुछिएको बताए । उक्त पार्टीका एक जना आचार्य थरका सहमहामन्त्रीजीको नाममा गोर्खा मिडियामा सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपियाँ प्रवाह भएको देखिन्छ भन्दै शर्माले सूर्य दर्शन सहकारीबाट एक करोड प्रवाह भएको देखिन्छ भने । 
 
कांग्रेसले सहकारी प्रकरणमा स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल र सोही पार्टीका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी समेत आरोपित रहेको भन्दै उनीहरुको समेत आलोचना गर्दै आएको छ । कांग्रेसले स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रावि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा संलग्न देखिएकाले उनीमाथि संसदीय छानबिनको माग गर्दै आएको छ । 

Advertisement

विश्वप्रकाश शर्माले आज भने,  ‘नयाँ बनेर आएको दलको सम्मान गर्दैगर्दा देश दुनियाँले सुन्नेगरी आग्रह गर्न चाहन्छु– त्यहाँ भित्र एउटा कोर टिम रहेछ । जो यो समग्र गतिविधिमा सामेल छ, ‘त्यहाँभित्र कोर टिम छ भित्र गएर काम गर्छ । डोर टिम ढोकामा बसेर ढाकछोप गर्छ । पुअर टिम छ जो देशभरी बसेर रास्वपा जिन्दावाद भनेर फेसबुकमा लेखिरहन्छ ।’

Advertisement