सम्पत्ति बीमामा सरकार नै पछाडि पर्यो, अहिलेसम्म सिंहदरबारको बीमा छैन्ः सिलवाल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आर्थिक क्षेत्रको महत्वपूर्ण पाटो बीमा भए पनि बीमाको काममा राज्य नै पछाडि रहेको बताएका छन् । 

बुधबार साँझ कर्पोरेट नेपालको दर्शौं बार्षिकोत्सवमा उनले हामीले बनाएको कुरालाई बिकास मान्यौ तर यसको दिगोपनाको कुरा गरेनौं भन्दै हामीले बनाइसकेको कुराको दिगोपना कहाँ हुन्छ ? भन्ने कुरा बजेटले बोल्दैन भने । 

Advertisement

सिलवालले भने, ‘हामीले लगानी गरेर बनाएका संरचनाको भोलि के हुन्छ ? त्यसको लागि बजेट विनियोजन भएको हुन्न । राज्यको लगानी भइसकेका संरचनाको संरक्षण गर्ने दायित्व पनि हाम्रै दायित्व हो । आज दुई अर्ब रुपियाँ लगानी गरेर बनाएको पुल भोलि बगाएर लगेपछि त्यो दुई अब कहाँबाट ल्याएर लगानी गर्ने ?’ 

अहिले भने मन्त्रिपरिषदले निर्णय गरेर देशभरका सरकारी सम्पत्तिको गणना गरी बीमाको दायरामा ल्याउने निर्णय भने गरेको स्मरण गर्दै उनले यो निर्णय सकारात्मक रहेको र कार्यदलले पनि काम गरिरहेको बताए । सिलवालले राज्य र सरकारका प्रमुखहरु बस्ने ठाउँको नै बीमा छैन भन्दै भोलि कुनै दैवीप्रकोपमा पर्यो भने राज्यले कहाँबाट लगानी ल्याएर बनाउँछ ? भनी प्रश्न गरे । 

अध्यक्ष सिलवालले बीमा नगर्दा २०७२ सालको भूकम्पमा राज्यले ठूलो नोक्सानी भोग्नुपरेको कुरा सम्झिए । तर सोही समयमा बीमा गरेका घरहरुले बीमा कम्पनीहरुबाट १६ अर्ब रुपियाँ पाउन सकेको उदाहरण दिए । सिलवालले बीमा गर्न बरु निजी क्षेत्र अगाडि रहेको र बीमालाई बुझेको बताउँदै तर सरकारले यो कुरालाई प्राथमिकतामा नराखेको बताए । 

उनले यस कुरामा तीन वटै सरकारको ध्यान जानुपर्नेमा उनीहरुको ध्यान अनुदानमुखी भएको बताए । सिलवालले यसलाई सरकारको ‘नीतिगत अस्पष्टता’को संज्ञा दिए । उनले विभिन्न नाममा भत्ता वितरण गर्नुभन्दा दुई महिना दिने भत्ताले बीमा गरिदिए राज्यलाई कुनै व्ययभार नहुने बताउँदै विकासको मुल मर्मलाई सरकारले समात्न नसकेको बताए । 

आर्थिक क्षेत्रमा कलम चलाउने मिडिया धेरै रहे पनि सत्य समाचार प्रस्तुत गर्ने मिडिया थोरै रहेको बताउँदै सिलवालले कर्पोरेट नेपालसँग प्राधिकरणको लामो सहकार्यको पनि स्मरण गरे । समाचारमा निजी विचार आउन नहुने उनको भनाई छ । सिलवालले निजी विचारको रुपमा समाचार आउन नहुने भन्दै समाचारमा जे सत्य हो, त्यही मात्र आउनुपर्ने बताए । कर्पोरेट नेपाललाई आफ्नो फरकपन कायम राख्न सिलवालले सल्लाह पनि दिए । 

Advertisement