सामाजिक सुरक्षा कोषबाट साढे आठ अर्ब भुक्तानी

Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्ब रुपियाँभन्दा बढी भुक्तानी गरेको छ । कोषले बिहीबारसम्म एक लाख ३५ हजार ८४३ योगदानकर्तालाई आठ अर्ब ४८ करोड रुपियाँभुक्तानी गरेको हो ।

कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सात अर्ब २५ करोड ३३ लाख एक हजार ३१८ रुपियाँभुक्तानी गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत ९८ करोड ४३ लाख ७६ हजार ३२२, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत ११ करोड ४७ लाख १९ हजार ५४५ र आश्रित परिवार सुरक्षा योजनाबापत १३ करोड २८ लाख १६५ रुपियाँभुक्तानी गरेको छ ।

Advertisement

कोषबाट एक लाख ३५ हजार ८४३ योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिएका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाबापत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ । 

कोषमा हालसम्म ५२ अर्ब ६३ करोड रुपियाँयोगदान रकम जम्मा भएको छ । कोषमा औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार गरी कुल १२ लाख ५७ हजार ७९९ श्रमिक सूचीकृत भएका छन् । सूचीकृत हुनेमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको संख्या बढी छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयलाई अनिवार्य गरेको छ ।

बिहीबारसम्म औपचारिक क्षेत्रका चार लाख ९१ हजार २२३, वैदेशिक क्षेत्रका सात लाख ६६ हजार २४३, अनौपचारिक क्षेत्रका २५१ र स्वरोजगार क्षेत्रका ८२ जना सूचीकृत भएका कोषले जनाएको छ । कोषमा १८ हजार ८१९ रोजगारदता आबद्ध छन् ।

Advertisement