ओलीले अझै २० बर्ष सक्रिय राजनीति गर्ने

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् । 

शुक्रवार पोखरामा आयोजित एमाले कास्कीको कार्यक्रममा उनले अहिले नयाँ सत्ता समीकरणमा एमाले पनि रहेको भन्दै पार्टीका आफ्ना उद्देश्य र नीति नछोडिकन राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने आवश्यकता रहेको बताए । 

Advertisement

ओलीले देशलाई राम्रो बाटोमा लैजाने अभिभारामा आफूहरु सफलतापूर्वक अघि बढेको जिकिर गरे । उनले ‘उनीहरुले केही समयअघि एमाले बिनाको नेपाल र ओली बिनाको एमालेको कल्पना गरेको’ भन्दै उनीहरुप्रति दया लागेर आउने बताए । ओलीले एमाले र देशलाई ठिक बाटोमा अघि बढाउन अझै २० वर्ष आफूले सक्रिय भएर काम गर्ने बताए । 

उनले देशबाट गरिबी, भोकमरी हटाएपछि मात्रै नेकपा एमालेले सुस्केरा हाल्न सक्ने बताए । ओलीले भने, ‘नेकपा एमाले अहिले नयाँ समीकरणको सरकारमा छ । तर पार्टी आफ्ना आफ्ना छन् । पार्टीका आफ्ना आफ्ना नीति छन् । पार्टीका आफ्ना आफ्ना उद्देश्य छन् । आफ्ना उद्देश्य नछोडिकन, आफ्ना नीति नछोडिकन अहिलेको अवस्थामा सरकारमा सँगै बसेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने, अपसंस्कृति र सांस्कृतिक अधोपतनलाई फेरि सुबाटोमा फर्काउनुपर्ने अभिभारा छ ।’ 

उनले थपे, ‘हामीले कदम चालेका छौँ । हामी सफलतापूर्वक अघि बढेका छाँै । कसैले एमाले बिनाको नेपाल भने, कठै बर । माया लाग्छ, एमाले बिनाको नेपाल । कसैले केपी ओली बिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिए, यसो गथ्र्यौं, उसो गथ्र्यौं, लाग्या होला । मैले पोहोर परार भनेको थिएँ नि, जुँगा अलि काला काला हुन थाले भनेर । अहिले मेरो कपाल सबै झरेको थियो, पलाउन थालेको छ । यो रोपेको होइन, आफैँ पलाउन थालेको छ । मैले भने नि २० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ । नेकपा एमाले र यस देशलाई ठिक बाटोमा अघि बढाएर यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर, अनिमात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ । अहिले हामीलाई समय छैन, हामी व्यस्त छौँ । झिँगाहरु सरापी रहेका छन्, नेकपा एमाले झन बलियो भएर अघि बढेको छ ।’

Advertisement